
हरिवन,पुस—२८। सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड ( एचपीएसएस) कार्यान्वयन सुनिश्चित गर्न फलोअप अनुगमन सुरु गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सोमवारदेखि सुरु गरिएको उक्त अनुगमन चालु आर्थिक वर्ष ०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयालले जानकारी दिए । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अनुगमन प्रत्येक ६–६ महिनामा गर्नुपर्ने प्रावधानअनुसार पहिलो चरणको फलोअप अनुगमन सुरु गरिएको उनले बताए ।

पहिलो दिन सोमवार हरिवन नगरपालिका–६ स्थित घुर्कौली स्वास्थ्य चौकीमा अनुगमन गरिएको छ । नगरपालिकाका अनुसार आज मंगलवार हरिवन स्वास्थ्य चौकी, माघ २ गते अत्रौली स्वास्थ्य चौकी र माघ ४ गते सासापुर स्वास्थ्य चौकीमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अनुगमन गरिनेछ ।

स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीका अनुसार सोमवारको अनुगमनमा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी र स्वास्थ्य शाखाको टोलीसहित १५ जनाको सहभागिता रहेको थियो । हअनुगमन टोलीमा स्वास्थ्य शाखाका सहसंयोजक श्याम विनोद कुशवाहा, जनस्वास्थ्य निरीक्षक सुरेश राय र रामनाथ साह सहभागी रहेका थिए । अनुगमनका क्रममा चिकित्सकीय व्यवस्थापनतर्फ ६० प्रतिशत, सुशासन तथा व्यवस्थापनतर्फ २० प्रतिशत र सहयोग सेवा व्यवस्थापनतर्फ २० प्रतिशत गरी जम्मा १०० प्रतिशत अंकभार रहने व्यवस्था गरिएको छ ।

प्राप्त अंकका आधारमा ८४ प्रतिशतभन्दा माथि हरियो, ७०–८३ प्रतिशत निलो, ५०–६९ प्रतिशत पहेंलो र ५० प्रतिशतभन्दा कम अंक ल्याउने स्वास्थ्य चौकीलाई सेतो (कमजोर) श्रेणीमा वर्गीकरण गरिने स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए ।

अनुगमनका क्रममा देखिएका कमीकमजोरी सुधारका लागि कार्ययोजना बनाई कार्यान्वयन गरिने जनाइएको छ । यसले स्वास्थ्य चौकीको वर्तमान अवस्था पहिचान गर्न, कमजोरी पत्ता लगाउन तथा सुधारका लागि योजना र बजेट व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । फलस्वरूप आधारभूत स्वास्थ्य सेवा प्रवाहमा सुधार भई गुणस्तरीय सेवा प्रदान गर्न सकिने र सेवाग्राही, सेवा प्रदायक तथा व्यवस्थापक सबै सन्तुष्ट हुने अपेक्षा गरिएको छ ।









