सर्लाही,पर्सा,पुस—१८ । झुम्का कारागार सुनसरीबाट फरार रहेका कैदी बन्दी हकिम बैठालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पर्सा गाउँपालिका–५ का अन्दाजी ५०–५५ वर्षका हकिम बैठा जबर्जस्ती करणी मुद्दामा १२ वर्षको सजाय पाई ८ वर्ष कैद भुक्तान गर्दै कारागारमा रहेका थिए ।

भदौ २३/२४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए।
जिल्ल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार फरार कैदी बैठा आफ्नै घरमा लुकिछिपि बसिरहेको भन्ने विशेष सूचना पाएपछि शुक्रवार दिउँसो करिब १३ः२५ बजे संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीको कमाण्डका प्रहरी र पर्सा चौकीबाट वरिष्ठ प्रहरी हवल्दार रामबिनाय ठाकुरसहित खटिइ उनलाई नियन्त्रणमा लिन सफल भएको हो।


पक्राउ परेका हकिम बैठालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले फरार कैदीहरूको खोजतलासलाई तीव्र बनाइएकोे जनाएको छ।