
मलंगवा, पुस १७ । सर्लाहीको मलंगवा नगरपालिका–७ का वडाध्यक्ष मो. इशा मिकरानी नागरिकता सम्बन्धी कसुर मुद्दामा अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत सर्लाहीले वडाध्यक्ष मिकरानीलाई ६० हजार रुपैयाँ धरौटी लिएर साधारण तारेखमा छाड्न आदेश दिएको हो । अदालतको आदेशअनुसार उनलाई बिहिवार साँझ हिरासतमुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

६२ वर्षीय वडाध्यक्ष मिकरानीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले आइतवार पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले रामविश्वास राय नामक व्यक्तिलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको आरोपमा अनुसन्धान गर्न मंसिर ५ गते प्रहरीलाई आदेश दिएको थियो । अदालतको आदेशपछि मिकरानी अनुसन्धान प्रक्रियामा सहयोग गर्ने शर्तमा धरौटीमा रिहा भएका हुन् ।










