लालबन्दी,पुस-६ गते । सर्लाहीको लालबन्दी नगरपालिकाले नगर मातहतका सम्पूर्ण विद्यालयहरूमा आइतवार एक दिने शोक विदा दिइएको छ।
नगरको वडा नं. ९ निवासी श्री माध्यमिक विद्यालय, चन्द्रपुर–१० मा कार्यरत शिक्षक पशुपति अधिकारीको निधन प्रति दु : ख व्यक्त गर्दै शिक्षक अधिकारीकाे सम्मानस्वरूप नगरपालिकाले शाेक विदा दिएको हाे ।
शिक्षक अधिकारीकाे मृगौला सम्बन्धी समस्याका कारण उपचारको क्रममा शनिवार निधन भएकाे थियो । शाेक वक्तव्य मार्फत नगरपालिकाले स्वर्गीय अधिकारीलाई अनुशासित, मर्यादित र कर्तव्यनिष्ठ असल शिक्षकका रूपमा स्मरण गरेकाे छ।
लालबन्दी नगर कार्यपालिकाको कार्यालयद्वारा जारी शोक वक्तव्यमा दिवंगत अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै शोक सन्तप्त परिवारजन तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
शिक्षा क्षेत्रमा उहाँले पुर्याएको योगदानको स्मरण गर्दै नगरपालिका तथा विद्यालय परिवारले उहाँप्रति उच्च सम्मान व्यक्त गरेका छन्।









