
लालबन्दी, पुस—३ गते । सर्लाहीको लालबन्दी बजार क्षेत्रभित्र विगत केही महिनादेखि घरधनी नभएको मौका छोपी ताल्चा फुटाई चोरी गर्दै आएको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरीमा प्रयोग भएको सुनका गरगहना र नगद रकम समेत बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार लालबन्दी नगरपालिकाका विभिन्न वडामा पटकपटक भएको घर चोरी घटनाको सम्बन्धमा गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी अनुसन्धान गर्दा संगठित रूपमा चोरी गर्दै आएको समूह पहिचान गरिएको हो। अनुसन्धानका क्रममा लालबन्दी नगरपालिका वडा नं. ७ स्थित आर.के. ज्वेलर्स र वडा नं. ६ स्थित साईरा ज्वेलर्सले बिलभरपाईबिनै सुनका गरगहना खरिद गरेको सूचनाका आधारमा ती पसलका सञ्चालकलाई निगरानीमा राखी सोधपुछ गरिएको थियो।

सोधपुछका क्रममा चोरीका गरगहना खरिदबिक्री भएको स्वीकार भएपछि प्रहरीले धनकौल गाउँपालिका वडा नं. ६ घर भई हाल लालबन्दी नगरपालिका वडा नं. ७ मा डेरा गरी बस्ने ३५ वर्षीया पिंकी देवी साह र एक जना मुख्य चोरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूबाट चोरीका विभिन्न सुनका गरगहना र नगद रकम बरामद गरिएको छ ।

बरामद गरगहना पीडितलाई सनाखत गराउँदा मंसिर—२३ गते लालबन्दी नगरपालिका वडा नं. ९ बस्तीपुरस्थित प्रमोदकुमार लुईटेलको घरबाट चोरी भएको पुष्टि भएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न रही चोरीका गरगहना खरिद गरेको आरोपमा आर.के. ज्वेलर्सका सञ्चालक ४२ वर्षीय रमेश विश्वकर्मा र साईरा ज्वेलर्सका सञ्चालक ३१ वर्षीय कुमार विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय मलंगवाका सूचना अधिकारी डिएपी सरोज राईका अनुसार पीडितको जाहेरीका आधारमा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा यसअघि भएका चोरीका घटनाबारे पनि अनुसन्धान जारी रहेको प्रहरीको जनाएको छ ।









