
सर्लाही, पुस —३ गते । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट सर्लाहीका पाँच जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।महाधिवेशनअन्तर्गत मधेस भूगोल खुलातर्फ हरिप्रसाद उप्रेतीले सर्वाधिक मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उप्रेतीले १५०१ मत प्राप्त गरेका हुन् ।

उप्रेती सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका नेता तथा पूर्वरक्षामन्त्रीसमेत हुन् ।
त्यस्तै मधेस भूगोल महिला तर्फ सर्लाहीको बरहथवा नगरपालिकाकी नगर प्रमुख समेत रहेकी नेतृ कल्पना कुमारी कटुवाल १५०६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

सर्लाहीबाट महाधिवेशन प्रतिनिधि बनेकी अधिवक्ता राधिका खतिवडा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । महिला क्लस्टरबाट उम्मेदवार बनेकी खतिवडाले लोकप्रिय १९१५ मत प्राप्त गरेकी छन् । उनी गलत अभियोजनका पीडित तथा आर्थिक रूपमा कमजोर पीडितहरूको पक्षमा वकालत गर्दै आएकी कारण चर्चित छन् ।

यसैगरी नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण सहाका सुपुत्र रौनित साह केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका नेकपा एमाले सर्लाही काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मोहनकुमार उप्रेतीले चियोचर्चो दैनिकलाई जानकारी दिए। उनका अनुसार सर्लाहीका जयप्रकाश यादव ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अनुशासन आयोग सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरूलाई नेकपा एमाले सर्लाहीका नेताकार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।









