लालबन्दी,भदौ- १९,जिल्लाकाे लालबन्दी नगरपालिका -१ नवलपुरस्थित १३२/३३ के.भि. सवस्टेशनमा सर्किट ब्रेकर प्रतिस्थापन कार्यका लागि  करिब ६ घण्टा विद्युत आपूर्ति बन्द गरिने  भएको छ।


ढल्केबर ग्रिड महाशाखाका अनुसार सवस्टेशनमा जडान गरिएको ६३ एम.भि.ए. ट्रान्सफर्मरको उच्च भोल्टेज साइडमा रहेको सर्किट ब्रेकरको मर्मत तथा प्रतिस्थापन कार्य गर्नुपर्ने भएकाले मिति  भदौ २० गते (भोलि) बिहान ५:०० बजेदेखि ११:०० बजेसम्म ट्रान्सफर्मर सटडाउन गरिन लागिएको हाे ।

मर्मत कार्यका कारण लालबन्दी वितरण केन्द्रबाट सञ्चालित सम्पूर्ण लाइनहरू बन्द रहनेछन् । जसका कारण सर्लाहीको लालबन्दी, मलंगवा, बरहथवा लगायतका क्षेत्रहरूमा सो अवधिभर विद्युत आपूर्ति अवरुद्ध रहने छ।


लालबन्दी वितरण केन्द्रका अनुसार उक्त सटडाउन आवश्यक प्राविधिक मर्मत कार्यका लागि भएकाले काम सम्पन्न हुने बित्तिकै  विद्युत सेवा सुचारु गरिनेछ।
“ याे अवधिमा ग्राहकवर्ग तथा आम उपभोक्तालाई पर्ने असुविधाप्रति क्षमाप्रार्थी छौं,”जारी सूचनामा भनिएको छ, “साथै वैकल्पिक व्यवस्था मिलाउन पनि सूचना मार्फत आग्रह गरिएको छ ।”


सटडाउनको जानकारी ग्रिड सञ्चालन विभाग, मधेश प्रादेशिक कार्यालय तथा सर्लाहीका सम्बन्धित वितरण केन्द्रहरूलाई समेत पठाइएको सूचनामा उल्लेख छ ।