
काठमाडौं, असार- २५, चालु आर्थिक वर्ष २०८१/८२ को बजेट भुक्तानीको अन्तिम दिन आजै भएकाले आज राति १२ बजेदेखि एक साताका लागि सबै सरकारी खाता बन्द गरिने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० बमोजिम महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र जिल्लास्तरीय कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत सञ्चालित सबै सरकारी खाता रोक्का गरिने मलेनिकाले जनाएको छ ।

आज अन्तिम दिन भएकाले आजपछि चालु आर्थिक वर्षका लागि सिर्जित दायित्वअन्तर्गतको कुनै बजेट निकासा हुने छैन। साथै, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (TSA) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) पनि आज रातिदेखि एक साताका लागि बन्द हुनेछन्।

यस वर्ष आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा भएको बाध्यकारी व्यवस्थाका कारण मलेनिकाले परम्परागत रूपमा पठाइने परिपत्र यसपटक नगरेको जनाएको छ। “कानुनमै आर्थिक वर्ष समाप्त हुनु एक साताअगावै सरकारी खाता रोक्का गर्नुपर्ने प्रावधान छ, त्यसैले परिपत्रको आवश्यकता परेन,” मलेनिकाका प्रवक्ता सुशीला अर्यालले भनिन् ।

नियमावलीको नियम ३० अनुसार, आर्थिक वर्ष समाप्त हुन एक साता बाँकी रहँदासम्म ‘फ्रिज’ नहुने शीर्षक बाहेक अन्य खर्च भुक्तानी गर्न पाइँदैन। अत्यावश्यक खर्चका लागि पनि मलेनिकाको स्वीकृति अनिवार्य गरिएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्गलवारसम्म सरकारी बजेटको करीब ७९ प्रतिशत खर्च भइसकेको छ। जसमध्ये चालु खर्च ८४ प्रतिशत, पुँजीगत खर्च ५३ प्रतिशत र वित्तीय व्यवस्थाको ८६ प्रतिशत रहेको छ।









