
काभ्रेपलाञ्चोक, असार २० — बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा आइतवारदेखि एक महिनाका लागि रात्री सवारी सञ्चालनमा रोक लगाइने भएको छ।
मनसुन सक्रिय भएसँगै बाढीपहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले उक्त निर्णय गरेको हो।

प्रशासनले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्मको सडक खण्डमा प्रत्येक दिन साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी आवागमनमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको छ।
यसअघि असार ७ गतेदेखि १५ दिनका लागि सोही समयावधिमा सवारी सञ्चालनमा रोक लगाइएको थियो। रोकको अवधि सकिएपछि पुनः जोखिम कायमै रहेकाले सवारी रोक्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।

उनका अनुसार वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च हुने भएकाले काठमाडौँबाट पूर्वतर्फ जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा र पूर्वबाट काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको नेपालथोकमा रोक लगाइनेछ।

गत वर्ष असोजमा आएको बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकस्थित चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको करिब आठ किलोमिटर सडक खण्डमा ठूलो क्षति पुर्याएको थियो। पूर्वी नेपाल जोड्ने छोटो र महत्त्वपूर्ण मार्गका रूपमा रहेको बिपी राजमार्गबाट दैनिक हजारौँ सवारी साधन आवतजावत गर्ने गरेका छन् ।









