
सर्लाही ,असार- १९, संघीय सरकारकाे अनुदानमा सञ्चालनमा रहेका ११ औं प्रमुख थाेक तरकारी बजार मध्ये जिल्लाकाे लालबन्दीमा रहेको थाेक तरकारी बजार शुक्रवारमा (भोली) बाट पुनः तरकारीको नियमित किनबेच सुरु हुने भएको छ।

लालबन्दी नगरपालिकाले तरकारीमा निकासी कर लगाएको विरोधमा बिहीवार बिहान व्यापारीले किसानबाट तरकारी खरिद गर्न अस्वीकार गरेपछि बजार प्रभावित भएको थियो। व्यवसायीले लालबन्दी–७ स्थित थोक तरकारी बजार अगाडि पूर्व–पश्चिम राजमार्ग ३ घण्टा अबरुद्ध गरेका थिए।

नगरप्रमुख बासुदेव अधिकारी आन्दोलनस्थलमै पुगेर करसम्बन्धी विषयमा दिउँसो ३ बजे छलफल गर्ने प्रतिबद्धता जनाएपछि सडक अवरोध खुलेको थियो।
पछिल्लो छलफलपछि आर्थिक वर्षको अन्त्यसम्म (असार मसान्त) विद्यमान कर प्रणालीलाई यथावत् राख्ने र आगामी साउनदेखि लागू हुने नयाँ करको विषयमा नगरसभाबाट निर्णय गर्ने सहमति भएको कृषि थोक बजार व्यवस्थापन समिति, लालबन्दीका अध्यक्ष प्रमोदप्रसाद थपलियाले जानकारी दिए।

“आर्थिक वर्ष सकिन दुई साता मात्रै बाँकी भएकाले अहिले जे जसरी कर उठाइँदै आएको छ, त्यसैअनुसार अगाडि बढ्ने सहमति भयो,” थपलियाले भने, “साउनदेखि भने करबारे निर्णय नगरसभाबाट गरिनेछ।”
लालबन्दी तरकारी बजार व्यवसायी सङ्घका अध्यक्ष दरेश चौधरीले बिहीवार भएको सहमतिअनुसार शुक्रवारदेखि नियमित कारोबार हुने जानकारी दिएका छन्। “अनिश्चितकालीन आन्दोलनलाई तत्कालका लागि स्थगित गरेका छौँ, भोलीदेखि तरकारी खरिद-बिक्री नियमित गरिन्छ,” उनले भने ।
छलफलमा नगरप्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, वडाध्यक्षहरू, किसान प्रतिनिधि र व्यवसायीहरू सहभागी थिए।









