
सर्लाही, असार- ४,विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाकाे बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा एक ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शंकास्पद बिल बिजक भएको ४२ लाख ४० हजार ३ सय ४७ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका सामानहरूसहित ट्रक नियन्त्रणमा लिइएको हाे ।

प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले बिहान करिब ६:४० बजे बिरगंजबाट ईटहरीतर्फ जाँदै गरेको बा ५ ख ३०७ नम्बरको ट्रक रोकी चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा ट्रकभित्र अनियमित बिल–बिजक भएका टायर, औषधी, मोबिल, खाने तेल, रेगुलेटर, मोटर पार्ट्स, छाता, घिउ, किसमिस, इलेक्ट्रोनिक तथा कस्मेटिक सामग्रीहरू लगायतका विभिन्न किसिमका खुद्रा सामानहरू पाइएकाले नियन्त्रणमा लिएको हाे ।
उक्त ट्रक र सामानहरू आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको हो।









