![]()
ठाकुर प्रसाद बख्रेल /लालबन्दी
असार- २, स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई लक्षित गर्दै एक दिने अभिमुखीकरण तालिम लालबन्दी नगरपालिका–१३ स्थित पत्थरकोट स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।
“खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू” विषयमा केन्द्रित उक्त तालिम पहिलो पटक जिल्लामै आयोजना गरिएको हो। तालिममा लालबन्दी नगरपालिका वडा नं. ११, १२ र १३ मा कार्यरत स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरू सहभागी भएका थिए।

तालिम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहजीकरणमा तथा पत्थरकोट स्वास्थ्य चौकीको व्यवस्थापनमा सञ्चालन गरिएको हो। डब्लुएचओका आईपीडी अफिसर डा. राजीव शर्माले तालिमकाे सहजीकरण गरेका थिए।
जनस्वास्थ्य निरीक्षक अमित गौतमका अनुसार २५ जना बढीको सहभागिता रहेको तालिममा दादुरा, अतिसंक्रामक लुलोपक्षघात, जापानीज इन्सेफ्लाइटिस, नवशिशु धनुष्टंकारलगायतका रोगहरूको बारेमा जानकारी दिइएको थियो। खोपमार्फत यस्ता रोगहरूको रोकथाम सम्भव हुने उनको भनाइ छ।

तालिमका क्रममा स्वास्थ्य सेवा केन्द्र हिरापुरका प्रमुख जनस्वास्थ्य निरीक्षक राजकुमार सिंहले लालबन्दी नगरपालिकामा गत र चालु आर्थिक वर्षमा गरी २ वटा जापानीज इन्सेफ्लाइटिसका बिरामी फेला परेको चियाेचर्चाे खबरलाई जानकारी दिए। उनका अनुसार, सन् २०२६ सम्ममा दादुरा रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ।

गत आर्थिक वर्ष हरिवन नगरपालिकामा जापानीज इन्सेफ्लाइटिसका कारण एक बालकको मृत्यु समेत भएको उल्लेख गर्दै उनले यस्तो खालका रोगहरूको रोकथाममा समुदायस्तरमै सचेतना र खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए।









