![]()
सर्लाही,असार – १,सर्लाहीमै पहिलोपटक चन्द्रनगर गाउँपालिकाले हरेक महिनाको १६ दिन सम्म नै पशु स्वास्थ्य घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।
चन्द्रनगर गाउँपालिका पशु सेवा शाखाको आयोजनामा आज (आइतवार) बाट सुरु भएको पशु स्वास्थ्य घुम्ती सेवाको गाउँपालिका अध्यक्ष राजकुमार महतोले उद्घाटन गरेका हुन ।

चन्द्रनगरमा रहेको ७ वटै वडाको विभिन्न टोलमा अब हरेक महिनाको १ गते देखि १६ गते सम्म घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए । उनका अनुसार यो प्रकृया १२ महिना चल्ने छ ।

पशु स्वास्थ्य घुम्ती सेवा समय तालिकाअनुसार आज वडा नं १ स्थित लघुवा, असार २ गते किसनपुर, रतनपुर ३ गते, वडा नं २ स्थित बिर्ताबजार ४ गते, दनुवारीटोल ५ गते, वडा नं ३ स्थित कोरियाहीटोल ६ गते, नाथुटोल ७ गते, बडकुर्वा ८ गते, वडा नं ४ स्थित गरहाटोल ९ गते, पोखरीया १० गते , वडा नं ५ स्थित फरिदटोल ११ गते, मोहनपुर १२ गते, वडा नं ६ स्थित कामद १३ गते, बिलैया बजार १४ गते र वडा नं ७ स्थित खड्काटोल १५ गते, र १६ गते चन्द्रनगरमा पशु स्वास्थ्य घुम्ती सेवा सञ्चालन गरिने पशु प्राविधिक राकेश कुमार महतोले जानकारी दिए।

पशु स्वास्थ्य घुम्ती सेवा सुरुमा चौपायाहरुको नि:शुल्क उपचार तथा औंषधी प्रदान गरिनेछ । यस्तो अभ्यास सर्लाहीमै पहिलोपटक गरिएको वडा नं १ का वडा अध्यक्ष रामेश्वर महतोले जानकारी दिए ।









