![]()
काठमाडौँ, जेठ-६,नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको बताएका छन् । उनलेे सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाए ।
नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित बदलिँदो विश्व परिवेशमा नेपालले अँगाल्नुपर्ने आर्थिक नीति विषयक अन्तरसंवादमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले अमेरिका, बेलायत लगायतका मुलुकमा बसोवास गर्ने अथवा काम गर्नेले नेपालमा पैसा पठाउनुको साटो यहाँका घरजग्गा विक्री गरेर उतै घरबार जोड्ने गरेको बताए।
ठूला देशमा बस्नेहरूबाट भन्दा खाडीमा श्रम गरेका नेपालीले मुलुकको अर्थतन्त्र धानेको उनको भनाइ थियो। उनले सबैतिर भ्रष्टाचार र अनियमितता रहेको भन्दै आलोचना गरे।

कोइरालाले भने, ‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं। सुशासन छैन। सबैतिर भ्रष्टाचार छ। देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारको हुनुपर्छ। मुलुकको अर्थतन्त्रमा देखिएको चहलपहल रेमिट्यान्सबाटै हो। देशको अर्थतन्त्र खाडीमा गएका नेपालीहरूले धानिरहेका छन्।’

उनले देशको अर्थतन्त्रमा भइरहेको चहलपहल रेमिट्यान्सबाट मात्रै भएको र खाडीमा गएका नेपालीहरूले धानिरहेको स्पष्ट पारे।









