रौतहट,वैशाख- २७ , जिल्लाको गरुडा र माधवनारायण नगरपालिकाका सबै सामुदायिक विद्यालयका नेपाली शिक्षकहरुलाई नेपाली भाषा शिक्षण सिकाई सम्बन्धि तालिम दिईएको छ ।
ती दुई नगरपालिकाका सबै सामुदायिक विद्यालयको कक्षा दुईमा नेपाली विषय पढाउने शिक्षकहरुलाई सिकाइ प्लस परियोजना मार्फत एकिकृत पाठ्यक्रममा आधारित नेपाली भाषा शिक्षण सिकाइ सम्बन्धी पाँच दिने आधारभूत तालिम दिईएको परियोजनाले जनाएको छ ।


चन्द्रपुरस्थित होटल तराई इनमा वैशाख २२ गतेबाट सुरु भएको तालिम शुक्रवार सम्पन्न भएको हो । तालिममा गरुडा र माधवनारयण नगरपालिकाका ४२ जना नेपाली पढाउने शिक्षकहरु सहभागि थिए ।
गरुडाका २३ र माधवनारायणका १९ जना नेपाली पढाउने शिक्षकहरुलाई दिइएको पाँच दिने तालिमको सहजिकरण मेरिगोल्ड कन्सल्टेसीका प्रशिक्षक चन्द्रबहादुर मोक्तान, विमल गैरे, लक्षिना थापा र तालिम केन्द्र कलैया बाराका रोष्टर प्रशिक्षक मनोज प्रसाद साहले गरेका थिए ।


तालिम समापन कार्यक्रममा गरुडा नगरपालिकाका शिक्षा शाखा प्रमुख सरोज गौतम, सह–संयोजक शेख चाँद अली, माधव नारायण नगरपालिकाका रोहित प्रसाद खनाल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शिवजी प्रसाद शाह र वल्र्ड भिजन ईन्टरनेसनल नेपालका पाण्डव रसाइलीले एकीकृत पाठ्यक्रममा अधारित शिक्षण सिकाइ तथा मूल्याङ्कन प्रणालीमा जोड दिएका थिए ।


अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, सर्लाहीको साझेदारीमा सञ्चालित गुणस्तरीय तथा समावेशी शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना मधेश प्रदेशका अत्ति जोखिममा रहेका बालबालिकाको आधारभूत शिक्षामा समान पहुँच र सहभागिता हुनेछ र समतामूलक सिकाइ उपलब्धि हासिल गर्ने लक्ष्यका साथ सञ्चालन हुँदै आएको संस्थाको संयोजक नागेन्द्र प्रसाद शाहले बताए ।
याे परियोजना सर्लाही जिल्लाको हरिपुरर्वा नगरपालिका, पर्सा, चन्द्रनगर, ब्रहम्पुरी गाउँपालिका र रौतहट जिल्लाको गरुडा र माधव नारायाण नगरपालिकामा सञ्चालनमा रहेको छ ।