
सर्लाही,बैशाख -१९, जिल्लाको कविलासी नगरपालिका–८, अगर्वास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टरले विविध कार्यक्रम गरि शुक्रवार (आज) १८ औँ स्थापना दिवस मनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कालिदास धौवजीको प्रमुख आतिथ्यतामा सशस्त्रको सर्लाहीस्थित मुख्य कार्यालयले १८ औँ स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्रकुमार महतो, कविलासी नगरपालिकाका प्रमुख ब्रम्हदेव राय, उपप्रमुख पुनम कर्ण, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायत सुरक्षा अधिकारी, कार्यालयका प्रमुख र विभिन्न संघसंस्था तथा निकायका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।

गणको स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बललाई सहयोग प्रदान गर्ने व्यक्ति, दिवंगत सशस्त्र प्रहरीका परिवारजन, सशस्त्र प्रहरीको आन्तरिक प्रतियोगिताका बिजेता कर्मचारीलगायतलाई सम्मान र साँस्कृतिक कार्यक्रम गरिएको छ।

गणको स्थापना दिवसको अवसरमा गणपति एवम् सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवबहादुर चन्दले जिल्लामा गणसहित मातहतको २ वटा सीमा सुरक्षा गुल्म, ९ वटा बिओपी र ७ वटा सुरक्षा बेश गरी १९ वटा युनिटले शान्ति सुरक्षा, अमनचयन र राजस्व चुहावट नियन्त्रणमा जिम्मेवारी अनुसार काम गरिरहेको जानकारी गराएका छन् ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सशस्त्रका डिआइजी धौवजी र प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गर्भिलो इतिहास बोकेको सशस्त्र प्रहरी बल प्राप्त जिम्मेवारी अनुसार शान्ति सुरक्षा कायम गर्न र खुला सीमाबाट हुने राजस्व चुहावट नियन्त्रणमा अझ जिम्मेवारपूर्वक लाग्न आवश्यक रहेको बताएका छन् ।









