![]()
सर्लाही,चैत -२१ सर्लाहीसहित तराईका जिल्लाहरूमा अहिले वासन्ती छठ पर्वको रौनक छ । चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुले आज षष्ठी तिथिका दिन निराहार व्रत शुरू गरेका छन् ।

व्रतालुले आज साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकारसहितका प्रसाद राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
पञ्चमीका दिन हिजो मध्यरातअघि खरना विधि गरेर सख्खरको खीर प्रसादस्वरुप खाएपछि निराहार व्रत शुरू भएको हाे ।

जिल्लाका विभिन्न जलाशयमा घाटहरू झकिझकाउ पारिएको छ । व्रतालुले भोलि शुक्रवार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ ।
यसअघि अस्ति मंगलवार चौथी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका व्रतालुले पञ्चमी तिथिका दिन हिजो राति नुन नहालेर एकछाक मात्र खाएर ‘खरना’ विधि सम्पन्न गरिसकेका थिए ।

तराई मधेश क्षेत्रमा वर्षको दुईपटक छठ मनाइन्छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ । यसैगरी, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ ।
दुवै छठमा सूर्यदेव र षष्ठीदेवी अर्थात छठीदेवीको उपासना गरिन्छ ।










