सर्लाही,चैत -१६, शुक्रवार काठमाडौंमा भएको आन्दोलनका क्रममा समाचार संकलन गर्न पुगेका पत्रकार सुरेश रजकको सुनियोजित हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिवार सदरमुकाम मलंगवामा विरोधमा प्रदर्शन गरेको छ ।


शुक्रवार राजधानीकाे तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको आगलागीमा पारी मृत्यु भएको थियो ।
घटनाको विरोधस्वमा शनिवार पत्रकार महासंघ सर्लाही शाखाले निकालेको विरोध र्‍याली जिविस चाेक, बालमन्दीर चाेक हुदै जिल्ला प्रशासन कार्यालयकाे गेट अघि पुगी काेणसभामा परिणत भएको थियो ।


काेणसभालाई पत्रकार महासंघ अध्यक्ष ओमप्रकाश ठाकुर ,नागरिकसमाजका महासचिव शिवचन्द्र चाैधरी ,पत्रकार महासंघका पूर्व अध्यक्ष शंकर श्रेष्ठले सम्बाेधन गरेका थिए। वक्ताहरूले विरोध प्रदर्शनका क्रममा पत्रकारको हत्या र सञ्चारमाध्यममाथिको आक्रमण अक्षम्य अपराध भएको भन्दै, घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका थिए ।


आन्दोलनका नाममा सञ्चारकर्मीको हत्या गर्ने, सञ्चारगृहमा आक्रमण गर्ने कार्य कदापि स्विकार्य नहुने र यस प्रकारको कार्य घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य कार्य भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ठहर रहेको छ ।


घट्नामा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन सर्लाही शाखाले सरकारसँग माग गरेको छ ।
प्रदर्शनमा सहभागी भएका स्थानीय पत्रकारहरूले पत्रकारको सुरक्षाको ग्यारेन्टी गर, पत्रकार रजकको हत्यारालाई कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, पत्रकारमाको हत्या बन्द गर लगायतका नाराहरु लगाएका थिए । सर्लाही शाखाले पत्रकार रजकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पत्रकार सुरेश रजकको सुनियोजित हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघकाे देशभर रहेका शाखा तथा प्रतिष्ठाहरूले देशव्यापी विरोध प्रदान गरेको हाे ।