मलंगवा,फागुन- २४ ,पत्रकार मनोज यादव स्व. गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।


लोकतन्त्र दैनिकमा विगत १० वर्षदेखि सम्पादक पदमा कार्यरत जिल्लाको श्रमजीवि क्रियाशील पत्रकार यादवले १५ हजार ५५५ रुपैयाँ राशिको पत्रकारिता पुरस्कार प्राप्त गर्नु भएको हो ।


नेपाल पत्रकार महासंघ सर्लाहीले सदरमुकाम मलंगवामा आयोजना गरेको स्मारिका बिमोचन तथा नव निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रमको अवसरमा पत्रकार यादवलाई सो पत्रकारिता पुरस्कार बाट सम्मान गरिएको हो ।


हरेक वर्ष जिल्लामा क्रियाशील एक जना पत्रकारलाई प्रदान गरिँदै आएको यो पुरस्कार प्राप्त गरेपछि यादव भावुक देखिएका थिए । पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा २५÷२६ वर्षदेखि कलम चलाउदै आएको र यो पुरस्कार र सम्मान पाउदा आफू धेरै खुशी लागेको बताउनुहुँदै पत्रकार यादवले निरन्तर कर्ममा खटिएपछि फल एक न एकदिन पाईने रैछ भन्ने महसुस भएको बताउनुभयो।

सर्लाहीलाई मुख्य केन्द्रबिन्दु बनाएर पत्रकारिता गरिरहनु भएका पत्रकार यादव राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाको सम्पादक हुनुहुन्छ । साथै स्पेस फोर्के टेलिभिजनको सर्लाही सम्बादाताको रुपमा पनि काम गरिरहनु भएको छ । उहाँले निरन्तर रुपमा पत्रकारिताको माध्यमबाट आवजविहिनहरुको पक्षमा कलम चलाउँदै आउनु भएको छ ।