रौतहट, फागुन —२०, रौतहटका बरिस्ठ पत्रकार फणिदेब महतलाई चन्द्रपुर अस्पतालले नगद सहयोग गरेको छ  ।

लामो समयदेखी ब्रेन ट्युमर रोगबाट ग्रसित सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रा.लि ले ५० हजार आर्थिक सहयोगसहित निःशुल्क सेवा समेत दिने अस्पताल संचालक डा.सुवास चौधरीले जानकारी दिए ।

मङ्गलवार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका सञ्चालक डाक्टर चौधरीले सञ्चारकर्मी महतलाई ५० हजारको चेक हस्तान्तरण गर्दै आजिवन उपचार खर्च मिनाहा गर्ने बताए ।

अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको एक दिनको तलब बापतको रकम सञ्चारकर्मी महतको उपचारमा सहयोग पुगोस् भन्ने हिसाबले आफूहरुले प्रदान गरेको अस्पतालका डाक्टर चौधरीको भनाइ रहेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्कीले सञ्चारकर्मी महतको उपचारमा सबैले सहयोग गरिदिन आग्रह गरे । रकम हस्तान्तरण कार्यक्रममा रौतहटका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

 

आर्थिक रूपमा विपन्न रहेका सञ्चारकर्मी महत विगत लामो समयदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका छन् ।रौतहट जिल्लालाई कार्यक्षेत्र बनाएर विगत दुई दशकभन्दा बढी समयदेखि सञ्चारकर्मी महतले विभिन्न संचार माध्यममा काम गरिसकेका छन् ।