सर्लाही,फागुन—१७ जिल्लाको हरिवन ९ मा निर्माणाधीन रहेको मावन सेवा आश्रमको भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले वृहद श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।

महायज्ञ फागुन २२ गतेबाट शुरु गरी चैत्र ३ गते सम्पन्न गर्ने गरी जिल्लाको हरिवन—११ स्थित सुर्ती विकास खेल मैदानमा आयोजना गर्न लागिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सहयोगापेक्षी सडक मानवहरुको व्यवस्थापनको लागि निर्माण हुँदै गरेको सो भवन निर्माणको लागि कुल ११ करोड आवश्यक रहेको बताउदै केन्द्रीय अध्यक्ष अधिकारीले आवश्यक सबै रकम दयालु दानवीर महानुभावहरुबाट महायज्ञका क्रममा संकलन हुने अपेक्षा रहेको बताए ।उनले भने,‘जुन भवन अहिले निर्माणाधीन छ । सो भवन निर्माण सम्पन्न गर्न ११ करोड आवश्यक छ । हामीले एक करोडको हाराहारीमा काम गरिसकेका छौं । प्रतिनिधिसभा सदस्य पूर्व रक्षामन्त्री हरि उप्रेतीज्यूको पहलमा यस वर्ष ५० लाख बजेट प्राप्त भएको छ । त्यसको पनि काम हुनेछ । बाँकी आवश्यक रकम महायज्ञबाट प्राप्त हुने विश्वास लिएका छौं ।’

उनका अनुसार महायज्ञको समुद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहबाट हुनेछ । भागवत भास्कर कमलनयन गौतमको मुखारविन्दबाट कथा वाचन हुने महायज्ञमा तीन जना उपप्रधानमन्त्री,विभिन्न मन्त्रालयका मन्त्रीहरु र जिल्लाका विभिन्न क्षेत्रका सांसद, प्रदेश सांसद, जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुख, कर्मचारीहरु, जिल्लामा क्रियाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई समेत सहभागि गराईनेछ ।

त्यस्तै महायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरु निखिल उप्रेती, शिवशंकर रिजाला, सुरेन्द्र केसीलगायतलाई समेत आमन्त्रण गरिएको छ, भने ईन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल र उहाँको टोली समेत कार्यक्रममा सहभागि हुनेछन् ।

त्यस्तै कार्यक्रममा कथा श्रवणको अलवा विहानको समयमा योग शिविर र त्यसपछि स्कुल कलेजका विद्यार्थीहरुको सहभागितामा मानसिक स्वास्थ्य सम्बन्धी शिविर समेत आयोजना गरिने छ ।