काठमाडौं, फागुन—१६,सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६ दशलमव १ म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो ।
मानिस निद्राबाट बिउँझिएर घरबाहिर निस्किएका थिए ।

भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन् ।सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


यस्तै कोदारीमा रहेको इलाका प्रहरी कार्यालयको भित्ता चर्किएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । यसबाहेक अरु क्षतिकोबारे जानकारी नआएको र बुझ्ने काम भइरहेको उनले बताए ।