
काठमाडौँ, फागुन —१५ केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले दुग्ध विकास संस्थान र निजी डेरीहरूले किसानको पैसा नतिरेपछि सरकारको ध्यानाकर्षण गराउदै आन्दोलनमा जान बाध्य नपार्न चेतावनी दिएको छ ।दूध किसानको बक्यौता भुक्तानी लम्बिएपछि सरकारको ध्यानाकर्षण गराउदै सहजीकरण आग्रह गरेको हो ।

सरकारसँग ऋण लिएर पहिलेदेखिकै बक्यौता केही तिरे पनि अहिले पुनः पुरानै अवस्थामा पुगेकाले तत्काल चुक्ता गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डले सहजीकरण गरिदिनुपर्ने केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले बताए।

‘अहिले फेरि बक्यौता उस्तै बनिसक्यो, डिडिसीले नदिएका कारणले निजीहरूले पनि किसानको भुक्तानी नहाल्ने गरेको देखियो कुँवरले भने‚ ‘किसानको अरबौं रुपैयाँ नतिरेर ब्याज खान पल्किएकाहरूले जर्जर समस्यामा पारे, अब राज्यले कडा भएर नउभिएसम्म कसैले पैसा तिर्दैनन्।’ गत माघ १५ सम्म डिडिसी र निजीको गरी साढे २ अर्ब किसानको भुक्तानी बाँकी रहेको भन्दै उनले केहीले असोजदेखिको पैसा नतिरेको उल्लेख गरे। ठूला डेरीहरूले समस्या गराएकाले पुनः ध्यानाकर्षण गरिएको भन्दै उनले निजी क्षेत्रको मात्रै करिब १ अर्ब ६० करोड रुपैयाँको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताए।

‘सरकारले गम्भीर रूपमा लिएर डिडिसीलाई पुनर्संरचनासहितको व्यवस्थापन नमिलाएसम्म यो देशका कोही पनि पैसा तिर्न अगाडि सर्दैनन्’, उनले प्रश्न गरे‚ ‘निजी संगठनले एक दुईवटा भए पनि ठूला डेरीहरूले बदमासी गरेकाले कारबाही किन गरेन ?’ निजीका ठूला सुजल, नेपाल डेरी, राजधानी लगायतका डेरीका बक्यौता धेरै रहेको उनले बताए।

नेपालमा दूध उत्पादन धेरै नभएको तर चोरी निकासी धेरै भएर समस्या भएको कुँवरले बताए। ‘सरकारले काठमाडौँमा बसेर नाकाबन्दी लगाइदिएको छ तर नाकामा बसेका सरकारका अंगले छाडिदिएका छन्, जसले गर्दा ठूलो मात्रामा दुग्धजन्य पदार्थ भित्रिरहेका छन्’‚ उनले भने, ‘दैनिक छुर्पी सहितको जोड्दा ३२ देखि ३५ लाख लिटर दूधको कारोबार हुनुपर्नेमा कहाँबाट आएको छ, अहिले छुर्पी बाहेक १५÷२० लाख पनि नपुग्ला जस्तो छ।’

यसअघि कृषि मन्त्रालय र संघबीच भएको ११ बुँदे समझदारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गर्ने र किसानको बक्यौता दिन ढिलाइ गरिए आन्दोलनमा जान बाध्य हुने उनको चेतावनी छ।









