
सर्लाही,माघ-९, नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले सर्लाही क्षेत्र नम्बर -२ का क्षेत्रीय सभापति ,प्रदेश सभा सदस्य तथा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्रीसमेत रहेका काैशलकिशोर रायलाई स्पष्टीकरण सोधेको छ।
पार्टीको मर्यादा र अनुशासन उल्लंघन गरेको भन्दै , समितिले रायलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हाे।

सर्लाही क्षेत्र २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य रायले संघीय निर्वाचनदेखि हालसम्म पार्टीको अनुशासन बर्खिलाप गतिविधि गरेको आरोप छ।
जिल्ला अनुशासन समितिका संयोजक सर्लाही उपसभापति डाक्टर सराेजकुमारद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रमा रायले फरक विचारधारा बोकेका राजनीतिकर्मी र नेताहरूका कार्यक्रममा सहभागिता जनाएको र ती मञ्चहरूबाट नेपाली कांग्रेस र पार्टीको शीर्ष नेता र समग्र संगठनमाथि तथ्यहीन आरोप र अपमानजनक टिप्पणी गरेको उजुरी प्राप्त भएको उल्लेख छ।

सर्लाही क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमितिले ठोस प्रमाणसहित यो उजुरी दर्ता गराएको स्पष्टीकरण पत्रमा उल्लेख छ। यस्तो गतिविधिले पार्टीको बदनामी र संगठनलाई कमजोर बनाउने काम भएको अनुशासन समितिको ठहर रहेको स्पष्टीकरण पत्रमा भनिएको छ ।

यस विषयमा पार्टी विधानअनुसार अनुशासनको कारबाही किन नगर्ने भनी रायकाे स्पष्टीकरण जवाफ माग गर्दै, पत्रको बोधार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाही, प्रदेश कार्यसमिति मधेश प्रदेश (जनकपुर), र केन्द्रीय कार्यालय सानेपा (ललितपुर लाई पनि दिइएको छ।









