सर्लाही,फागुन -६, जिल्लाको हरिपुर नगरपालिकाको चौधौं नगरसभा (आज) मंगलवार सम्पन्न भएको छ।

नगरसभाले यसअघि असारमा पारित गरेको केही योजनाहरूलाई संशोधन गर्दै कृषि, पूर्वाधार र सामाजिक विकास क्षेत्रमा बजेट खर्च गर्ने निर्णय गरेको छ।


नगरसभाको सभाध्यक्ष तथा नगरप्रमुख गोपाल पजियारले नगरपालिकाक‍ो सभाहलमा कार्यक्रमकाे उद्घाटन गरेका थिए। नगरसभामा प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले चालु आर्थिक वर्षको आठ महिनामा चालुतर्फ ३३.५ प्रतिशत र पूँजीगततर्फ ६.६ प्रतिशत बजेट खर्च भएको जानकारी दिए।


संघीय सरकारले उपलब्ध गराउने करिब १३ प्रतिशत बजेट कटौती भएकाले नगरपालिकाको तीन करोड रुपैयाँ घटेको पौडेलले जानकारी दिए।
नगरसभामा वडाध्यक्षहरू नानीबाबू थापा, निलबिक्रम थापा, सुरेन्द्र चौधरी लगायतका कार्यपालिका सदस्यहरुले आ-आफ्ना धारणा राखेका थिए ।


गएको असार १० गते सम्पन्न नगरसभाले चालु आर्थिक वर्षका लागि अनुमानित ६६ करोड ६३ लाख ५६ हजार रुपैयाँ बराबरको विनियोजन गरेको थियो।