सर्लाही,माघ-१४, जिल्लाकाे जनज्योति बहुमुखि क्याम्पस लालबन्दीमा अध्ययनरत विद्यार्थीहरुले एकदिने फुड फेस्टिबल आयोजना गरेका छन् ।
बिबि.एस चौथो वर्ष, व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस परिसरमै आज साेमवार फुड फेस्टिबलको आयोजना गरेका हुन् ।
क्याम्पसको सहयोग तथा विद्यार्थीहरुकै सामुहिक प्रयासमा आयोजना गरिएको फुड फेस्टिबल कार्यक्रममा उनीहरुले आफैले बनाएका मःमः, चाउमिन, पानीपुरी, चटपटे, सेलरोटी लगायतका परिकारहरु अन्य विद्यार्थीहरुलाई चखाएका थिए ।
उनीहरुले पढेको कुरा व्यवहारिक रुपमा गर्दा रमाईलो र आनन्द दुबै महसुस भएको बताए ।
काम र व्यवसाय सानो ठुलो हुन्न भन्ने देखाउन पनि आफूहरुले फेस्टिबलको आयोजना गरेको एक क्याम्पसमा अध्ययनरत विद्यार्थी अर्जुन गौतमले बताए । उनले पानीपुरी बनाएर बिक्रीवितरण गरेका थिए ।
त्यस्तै फेस्टिबलमा मःमः को परिकार बनाउँदै गरेकी अर्की विद्यार्थी इशा धमलाले मःमः मा राम्रो प्रोफिट हुने आफूहले महसुस गरेको बताईन् ।
आफूहरुले अहिले प्राक्टिकलको लागि मात्रै गरेको तर बाहिर पनि गर्न पाए प्रोफिट हुने रहेछ भन्ने लागेको फेस्टिबलमा चटपटे बनाउँदै गरेकी अर्की एक विद्यार्थी प्रिति काफ्लेले बताईन् ।
विद्यार्थीहरुले बनाएको परिकार चाखेपछि अन्य विद्यार्थीहरुले उनीहरुको पाक कलाको प्रशंसा नै गरेका छन् ।
धेरै साथीहरुले सुरुमा भन्दा बनाउँदै गएपछि मिठो मिठो हुँदै गएको प्रतिक्रिया दिएका छन् ।
विद्यार्थीहरुलाई जागिरमुखि भन्दा पनि उद्यममुखि हुन सिकाउने उदेश्यले प्रयोगात्मकको रुपमा यो फेस्टिबलको आयोजना गरिएको प्राध्यापक देवराज पौडेलले जानकारी दिए ।
त्यस्तै क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले विद्यार्थीले फुड फेस्टिबल गर्ने इच्छा जगाएकोले क्याम्पसले त्यसलाई सकारात्मक रुपमा लिएको बताए ।