सर्लाही,माघ -११, सामुदायिक सुरक्षा जालो र महिलावादी आन्दोलनको सुदृढीकरण अन्तरगत लालबन्दीमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
महिलाको क्षेत्रमा काम गर्ने संस्था टेवाको आर्थिक सहयोगमा यहाँस्थित मातृभूमि विकास नेपाल संस्थाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम संस्थाकी अध्यक्ष सुनिता तिमल्सिनाको अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


लालबन्दी नगरपालिका ५ शान्तिटोलस्थित महिला संरक्षण गृहको सभाहलमा भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष मिन प्रसाद ढुंगेल(रामु)काे विशिष्ट आतिथ्यता थियो । कार्यक्रमकी प्रमुख अतिथी उपमेयर पाख्रिनले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सामुदायिक सुरक्षा जालोका सदस्यहरुले लैंगिक हिंसा न्यूनिकरण, लैंगिक उत्तरदायि बजेट, सुत्केरी भत्ता, दाईजो प्रथा, बालविवाह, महिला उद्यमशिलता लगायत महिलाहरुको क्षमता अभिवृद्धिका विषयहरुमा प्रश्न गरेका थिए ।
उनीहरुले वडाहरुले महिला लक्षित कार्यक्रमहरुमा बजेट नराखेको, नगरपालिकाले सुत्केरी महिलालाई दिँदै आएको ५ हजार सुत्केरी भत्ता किन रोकिएको, लैंगिक हिंसा कोष कसरी सञ्चालन भईरहेको छ भनेर आफूहरुलाई थहा नभएको भन्दै प्रश्न गरेका थिए ।
जवाफमा उपमेयर एवम् प्रमुख अतिथी पाख्रिनले आफूहरुले पदभार ग्रहणका समयमा घोषणा गरेको ५ हजार सुत्केरी भत्ता वितरणमा केही असहजता भएकोले बन्द गरिएको बताइन् । उनले सुत्केरी भत्ताको सट्टा त्यो रकमले सुत्केरी महिलालाई निःशुल्क एम्वुलेन्स सेवा प्रदान गरिएको बताइन् ।


उनले भनिन् ,‘सुत्केरी भत्ता पाउन सबै प्रक्रिया पुग्नु पर्ने हुन्छ, प्रक्रिया पुर्‍याउनेले पाए प्रक्रिया पूरा गर्न नसक्नेले पाएनन् । त्यसैले यो सेवा हामीले नै रोक्यौं र त्यसको सट्टा त्यो पैसाले सुत्केरी महिलालाई हस्पिटलसम्म ल्याउने नि:शुल्क सुत्केरी गराउने व्यवस्था मिलायौं ।’
उनले नगरपालिकाको लैंगिक विकास तथा समाज कल्याण शाखाको अलवा आफूले समेत महिलाहरुको लागि बजेट छुट्याउने गरेको बताइन् । उनले मातृभूमि विकास नेपाल संस्था मार्फत टेवाले आफ्नो नगरपालिकामा सामुदायिक सुरक्षा जालो र महिलावादी आन्दोलनको सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको भन्दै टेवालाई धन्यवाद दिइन् ।
उनले वडामा मात्रै नभई नगरपालिकामा पनि कार्यक्रमको प्रस्ताव लिएर आए सकेको सहयोग गर्न तयार रहेको बताइन् ।त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी वडाअध्यक्ष मिन प्रसाद ढुंगेल(रामु)ले आगामी बजेट निर्माण गर्दा सामुदायिक सुरक्षा जालोको लागि पनि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । उनले महिलाहरुको पक्षमा काम गर्न आफू हरदम तयार रहेको भन्नुहुँदै वडाअध्यक्ष ढुंगेलले वडाका महिलाहरुलाई उद्यमशिलता सम्बन्धी विभिन्न तालिम र अन्य क्षमता अभिवृद्धिका कार्यक्रमहरु राख्ने प्रतिवद्धता जनाए ।
त्यस्तै कार्यक्रमकी अतिथी नगरपालिकाकी लैंगिक विकास तथा समाज कल्याण परिषदकी प्रमुख डाक कुमारी फुयाँलले नगरपालिकाले स्थापना गरेको लैंगिक हिंसा कोषको रकम खर्च हुन नसकेको बताइन्।

उनले भनिन् , ‘हिंसामा परेका महिला दिदीवहिनीहरुलाई हामी अनुरोध गर्दछौं कि, नगरपालिकाले तपाईहरुको लागि भनेर लैंगिक हिंसा कोषको व्यवस्था गरेको छ। र कोही पनि सम्पर्कमा नआउँदा यो रकम खर्च हुन सकेको छैन ।’
कार्यक्रममा टेवाकी कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठले टेवाले गर्ने काम र यसको लक्ष्य उदेश्यका विषयमा प्रष्ट पारेकी थिइन्।
उनले सामुदायिक सुरक्षा जालो र महिलावादी आन्दोलन भनेको के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा समेत प्रस्ट् पारिन् । उनले सार्वजनिक सुनुवाई कार्यक्रमको उदेश्य अनुरुप सहभागिले उठाएका सवालहरुमा के कति सुधार आए र परिवर्तन भए भन्ने कुरा पनि महत्वपूर्ण हुने भएकोले त्यसतर्फ ध्यान दिन जनप्रतिनिधिहरुलाई आग्रह गरिन्।
पत्रकार सोम दियाली विश्वकर्माले सञ्चालन गरेकाे कार्यक्रममा सामुदायिक सुरक्षा जालोकी सदस्य बालिका सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा लालबन्दी ५ का वडासदस्यहरु ज्ञानबहादुर कटुवाल, चित्रकुमार कोश्वार, मन्जु सार्की अतिथी हुनुहुन्थ्यो ।
त्यस्तै लालबन्दी नगरपालिकाको लैंगिक विकास तथा समाज कल्याण परिषदकी प्रमुख डाक कुमारी फुयाल, नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्णप्रसाद थपलियालगायत स्थानीय भद्रभलाद्मी, समाजसेवी र सामुदायिक सुरक्षा जालोका सदस्यहरुको उपस्थिति रहेको थियो ।