सर्लाही,माघ- ११, जिल्लाको हरिपूर्वा नगरपालिकामा पहिलो पटक पालिका मार्फ कालोपत्रे गरिन लागेको सडकको नगरप्रमुख विनोदकुमार साह तेलीले शिलान्यास गरेका छन् ।
यश अघि स्थानीय तह कायम भए यता हरिपूर्वामा सडक ग्राभेल र ढलानको काम मात्रै हुँदै आएको थियो । यहाँ बाँके–संग्रामपुर सडकमा हुलाकी सडक आयोजनाले गरेको कालोपत्रेबाहेक पालिका मातहतको कुनै पनि सडक ‘पिच’ हुन सकेको थिएन ।


यस वर्ष भने पहिलो पटक पालिका मार्फत सडक कालोपत्रे सुरू गरिएको हाे हरिपूर्वा नगरपालिका–६, स्थित पशु सेवा केन्द्रदेखि पश्चिम धनकौल हुँदै डुमरिया जोड्ने २.५ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का लगाइएको नगरपालिका कार्यालयले जनाएको छ ।
सडक कालोपत्रे कार्यको आज बिहान नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी, हरिपूर्वा – ६ का वडाध्यक्ष राम सोगारथ राय यादव र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।


सडक कालोपत्रेका लागि ९ करोड ४५ लाख ६६ हजार ५६२ रुपैयाँ २ पैसामा ठेक्का लागेको छ । संघीय समपुरक अनुदानबाट बहुवर्षे योजना अन्तर्गत सडक कालोपत्रे हुन लागेको प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले जानकारी दिए ।
राष्ट्रिय योजना आयोग र नगरपालिकाले आधा/आधा बजेट बेहोर्ने गरि सम्झौता गरिएको छ ।

२०८३ साल साउन २० गतेभित्र सडक कालोपत्रेको काम पूरा गर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।
जनप्रतिनिधिबिच विवाद भएर वर्षेनि आर्थिक वर्षको अन्तिमतिर मात्रै बजेट पारित भइ हतार–हतारमा योजना सन्चालन हुने हरिपूर्वामा यश आर्थिक वर्षको सुरुमै बजेट पारित भएको थियो।