सर्लाही,माघ- ८, भूमि समस्या समाधान आयोग जिल्ला समिति सर्लाहीका नवनियुक्त अध्यक्ष मदन विश्वकर्माले पदभार ग्रहण गरेका छन् ।
जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा आयेजित कार्यक्रममा विश्वकर्माले १९ औं अध्यक्षको रूपमा पदभार ग्रहण गरेका हुन । आयाेगका सदस्य सचिव समेत रहेका नापी कार्यलय सर्लाहीका प्रमुख विन्देश्वर यादवले विश्वकर्मालाई पदभार ग्रहण गराएका थिए।


पदभार ग्रहण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले भूमि सम्बन्धि समस्या समाधान नहुनुकाे मुख्य कारण वन ऐन रहेको बताए । उनले अहिलेकाे सरकारले ऐनमा भएको बाधा व्यवधान हटाउन अध्यादेश ल्याएकाले अहिले १९ औं पटक गठन भएको आयाेगले सर्लाही जिल्ला सहित देशभर रहेकाे भूमि सम्बन्धि सम्बन्धि समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।


पदभार ग्रहण कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले विगत २२ साल ताका धेरै नागरिकले समयमा जग्गाको तिराे तिर्न नसकेकाले धेरै जग्गाहरू ऐलानी रहेको बताए । उनलेे यस्ता जग्गाकाे लालपुर्जा वितरण हुनसके यहाँका धेरै नागरिकले राहत पाउनुकासाथै राज्यको राजस्व वृद्धि हुने बताए ।
कार्यक्रममा कांग्रेस नेता मधेस प्रदेश सांसद जंगिलाल रायले राजनीतिक भेदभाव नगरि भूमि सम्बन्धि समस्या समाधानको लागि कार्य गर्न नवनियुक्त अध्यक्षलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह,लालबन्दी नगर प्रमुख बासुदेव अधिकारी, हरिवन नगर प्रमुख रमेश बुधाथोकी, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।


भूमि अधिकारबाट वञ्चित समुदायको अधिकारका लागि संघर्षरत सामाजिक अभियन्ता तथा नेपाली कांग्रेस मधेश प्रदेश सदस्य समेत रहेका ईखरपुर नगरपालिका–१२ निवासी  विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले केही दिन अघि भूमि समस्या समाधान आयोग, जिल्ला समिति सर्लाहीको अध्यक्ष पदमा नियुक्त गरेको थियो।
भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा ९३० बमोजिम ३ वर्षिय पदावधि रहने गरि मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई नियुक्ति गरिएको हाे ।