महोत्तरी,पुस-१३,नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताएका छन् ।खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको उनलेे  बताए ।
महोत्तरीको भटौलियामा शनिवार नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।  उनलेे    सुशासनका लागि अब कसैलाई दोष दिएर नभई सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।


“भ्रष्टाचारबारे कसैप्रति दोष दिएर आफू उम्कन पाइँदैन। यसलाई जरैदेखि निर्मूल पार्न सबैको सङ्कल्प चाहिन्छ”, उनले भने, “यो अभिभाराको नेतृत्व प्रजातन्त्रका लागि लामो लडाइँ लडेको कांग्रेसका कार्यकर्ताले गर्नुपर्छ। भ्रष्टाचारले संस्थागत रूप लिएकाले यसविरुद्ध निर्मम सङ्घर्ष आवश्यक छ।” उनलेे भने ।


युवा पुस्तालाई शिक्षा र रोजगारीका लागि मुलुकमै रहनसक्ने वातावरण नबनाएसम्म मुलुकले अग्रगति लिन नसक्ने धारणा राख्दै नेता कोइरालाले त्यसका लागि गुणस्तरीय प्राविधिक शिक्षा र उत्पादनमूलक काममा लगानीको आवश्यकता औँल्याए। त्यसका लागि कृषि उपयुक्त अवसर भएको उनको भनाइ थियो।
“हाम्रो सम्भावनाको क्षेत्र कृषि नै हो। मधेशकै कुरा गर्दा पनि यसलाई अन्नको भण्डार मानिँदै आइएको छ।

कृषिलाई आधुनिकीकरण गर्न ठोस पहलकदमी नहुँदा लाभ लिन सकिएको छैन।
अब कांग्रेस नेतृत्वमा बहुमतको सरकार बने मात्रै यी समस्या निदानका लागि काम गर्न  सकिन्छ। यसका लागि सबैले प्रयास गरौँ”,  कोइरालाले भने ।