
सर्लाही,मंसिर -२०, जिल्लाकाे जनज्योति बहुमुखि क्याम्पस लालबन्दीको रजत जयन्ती महोत्सव भव्यताकासाथ सम्पन्न भएको छ ।
क्याम्पसको स्थापना, सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण योगदान दिने महानुभावहरुलाई सम्मान तथा जनज्योति दर्पण नामक पुस्तक विमोचन गर्दै २५औं स्थापना दिवस(रजत जयन्ती महोत्सव) भव्य कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीको सभापतित्व तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न रजत जयन्ती समारोहमा प्रमुख अतिथि प्रा.डा.अधिकारीले अहिलेको पाठ्यक्रमले पुरानै खालको विद्यार्थी उत्पादन गर्ने भएकोले नयाँ शिराबाट शिक्षण पद्धतिको विकास पर्नेमा जोड दिएका छन् । उनले अवको क्रान्ति शैक्षिक क्रान्ति हुनुपर्ने, परम्परागत ढंगले शैक्षिक गुणस्तर हासिल गर्न नसकिने बताए ।

जनज्योति बहुमुखि क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट एक पटक क्यूएए प्राप्त गरिसकेकोले निरन्तर तीन पटक क्यूएए प्राप्त गरेपछि यसले अरुलाई पनि उपाधि दिन सक्ने हैसियत बनाओस, निरन्तर क्यूएए प्राप्त गर्न सकोस भन्दै शुभकामना दिए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि संघीय सांसद रामप्रकाश चौधरीले सर्लाही त्यसमा पनि लालबन्दी नेपालमा लोकसेवामा धेरै संख्यामा नाम निकाल्ने ठाउँको रुपमा परिचित हुनुमा जनज्योति बहुमुखि क्याम्पसकै देन भएको बताए ।
जनज्योति बहुमुखि क्याम्पस यस क्षेत्रकै लोकप्रिय क्याम्पस रहेको बताउँदै सांसद चौधरीले क्याम्पसको प्रगतिमा यहाँका मेयर र क्याम्पस व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका रहेको बताए । उनले प्रतिनिधिसभामा शिक्षा समितिको सदस्य भएको नाताले क्याम्पसको विकासमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै प्रदेश सांसद एवम् मधेश प्रदेश सरकारका पूर्व यातायातमन्त्री बेची लुंगेलीले जनज्योति बहुमुखि क्याम्पस मधेश प्रदेश प्रदेशकै नमूना क्याम्पस रहेको बताउँदै यसलाई देशकै नमूना क्याम्पसको रुपमा विकास गर्नु पर्ने बताईन् । उनले क्याम्पसलाई यो उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेहरुलाई रजत जयन्तीका अवसरमा सम्मान गरेर सराहनीय काम गरेकोमा उनले धन्यवाद समेत दिईन् ।

त्यस्तै क्याम्पस स्थापनाका दिनहरुको स्मरण गर्दै जनज्योति बहुमुखि क्याम्पसका पूर्व अध्यक्ष र हाल संरक्षक समेत रहेका लालबन्दी नगरपालिका प्रमुख मेयर बासुदेव अधिकारीले दशैंमा खान भनेर ठिक पारेको मासु समेत आधा बेचर भएपनि क्याम्पसमा लगानी गर्न यहाँका अभिभावकहरुलाई आग्रह गरेको बताए । त्यसको परिणाममा अहिले यहाँका विद्यार्थीहरुले आफ्नै घरको रुखो सुखो खाएर भएपनि उच्च शिक्षा हासिल गर्न पाएको बताए । उनले क्याम्पसको २५औं वर्ष मनाउन र स्थापना कालमा तन, मन र धन दिएर सहयोग गर्ने महानुभावलाई सम्मान गरेको देख्दा आफू अत्यन्तै हर्षित भएको बताए ।
त्यस्तै ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्यले जनज्योति बहुमुखि क्याम्पसमा अध्ययनरत १० जना विद्यार्थीलाई आफ्नो तर्फबाट हरेक वर्ष छात्रवृति उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
त्यस्तै सर्लाहीका प्रजिअ गोपाल प्रसाद अधिकारीले विद्यार्थीहरु जिज्ञासु हुन आवश्यक रहेको बताए । उनले अहिलेकाे शिक्षा १० वर्ष अघिको प्रमाणपत्र हासिल गर्नका लागि आर्जन गरिने शिक्षा जस्तो नभएकोले सिर्जनशील हुन आग्रह गरे । उनले विद्यार्थीहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट आफूपनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरे ।

त्यस्तै कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले अनुसन्धानमा आधारित शिक्षामा जोड दिन आग्रह गर्दै, जनज्योति बहुमुखि क्याम्पसलाई थप विषयमा सम्बन्धन दिन आफूहरु तयार रहेको बताए ।
त्यस्तै कार्यक्रमका सभापति जनज्योति बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीले विश्वविद्यालय अनुदान आयोगले दिने अनुदानको मापदण्ड हुनुपर्ने बताए । उनले झोले क्याम्पस र क्यूएए प्राप्त क्याम्पसले पाउने अनुदान एउटै हुन नहुने बताए । ६२/६३ पछि शिक्षाको गुणस्तर खस्किँदै गएको बताउँदै उनले जनज्योति बहुमुखि क्याम्पसलाई प्रविधिमैत्री बनाउन छिट्टै नै प्रविधि मैत्री बनाउन लागिएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता सिताराम दाहाल , एमाले लालबन्दी नगर अध्यक्ष सरोजबाबु न्यौपाने, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अर्जुन जर्गा, राप्रपाका नगर अध्यक्ष गंगाप्रसाद चालागाई, स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभिमन्यू चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा क्याम्पसका संस्थापक, संरक्षक, पूर्व व्यवस्थापन समिति अध्यक्षहरु, पूर्व क्याम्पस प्रमुखहरु, सहायक क्याम्पस प्रमुखहरुलाई समेत कदर पत्रबाट सम्मान गरेको थियो ।
क्याम्पसका उपप्राध्यापक बाबुराम दाहालले सञ्चालन गरेको कार्यक्रममा क्याम्पस प्रमुख उमेश प्रसाद तिमल्सिनाले क्याम्पसको परिचयसहितको जानकारी राखेका थिए भने क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कल्चरका नाँचहरु प्रस्तुत गरेका थिए ।









