
काठमाडौँ, मंसिर -१९, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धी तीनवटै विधेयक छिटो ल्याउन कांग्रेसले पहल गर्ने बताएका छन् ।
सभापति देउवाले अबको ४०-५० वर्षको अनुमान गरेर मुलुकले अवलम्बन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नुपर्ने बताए।
बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा बाेल्दै सभापति देउवा यस्तो बताएका हुन्।

उनलेे विद्यार्थी अभावमा मुलुकमा सञ्चालित क्याम्पसहरू बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे।
पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो रहेको बताउदै सभापति देउवाले मुलुकमा सञ्चालित क्याम्पस विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेकाे बताए ।

नेपाललाई विदेशी विद्यार्थीको गन्तव्य मुलुक बनाउनुपर्नेमा जाेड दिदै सभापति देउवाले नेपाली विद्यार्थी विदेश पलायन हुनु दुःखद भएको बताए । उनले युवालाई स्वदेशमै रोक्ने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको तर्क गरे ।

सभापति देउवाले यसको लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयानुसार परिवर्तन र परिमार्जन गर्न पनि आवश्यक रहेको बताए ।









