
कृष्ण प्रसाद थपलिया /सर्लाही
मंसिर -१७, नेपाली कांग्रेसका नेता एवम् पुर्व उप-प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेशकाे समृद्धि कांग्रेसकाे नेतृत्वमा मात्रै सम्भव हुने दाबी गरेका छन् ।
जिल्लाको रामनगर रामनगर गाउँपालिका- १ खैर्वामा नेपाली काँग्रेसले आयोजना गरेकाे वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन ।

कांग्रेसीहरुले लाेकतन्त्र, समाजवाद, संघियता, मिश्रित निर्वाचन प्रणालीसहित नाै ओटा मुलमन्त्र सधैं याद गर्नुपर्ने बताउँदै उनले काँग्रेसीजनकाे रक्षा नेपाली काँग्रेसले गर्ने बताए ।
उनले काँग्रेस बलियाे भए मात्रै देश बलियाे हुने भन्दै काँग्रेस अब एक ढिक्का भएर अघि बड्ने विश्वास व्यक्त गरे । उनले पार्टी भित्र सुदृढीकरण र शुद्धीकरण दुवै आवश्यक रहेको बताए।
नेता निधिले पार्टी भित्रका आपसी मतभेदलाई एक ठाउँमा बसेर समाधान गर्न जिल्ला नेतृत्वलाई आग्रह गरे ।`लोकतान्त्रिक पार्टी भित्र सामान्य मतभेद हुन्छ , मतभेदको कारण पार्टीलाई कमजोर बनाउने तिर लाग्नु भन्दा पनि बलियो बनाउने तिर लाग्नुपर्छ ,नेपाली काँग्रेस पार्टी पुरानो इतिहास बोकेको पार्टी हो,´सवै मिलेर अघि बढाै उनले भने ।

कांग्रेस कमजोर भयो भने लोकतन्त्र माथि खतरा हुने,´ पार्टी भित्रको आन्तरिक द्वन्द्वको फाइदा अरुले लिने हुदा सबै सजक हुनपर्छ, नेताले निधिले भने ।
उनले १५ ओैं महाधिवेशन एक वर्षपछि हने बताउदै ,सबै नेता कार्यकर्ताहरु एक भएर आगामी महाधिवेशन सफल बनाउन आग्रह गरे ।
पार्टी आन्तरिकरूपमा बलियो भएमात्र कांग्रेसले ८४ सालमा बहुमत प्राप्त गर्न सक्छ, मधेसको समग्र विकासको लागी काँग्रेसको बहुमतको सरकार चाहिन्छ ।त्यसका लागि आजैदेखि एक ढिक्का भएर अभियान लाग्नुपर्छ,´ उनलेे भने ।
नेपाली कांग्रेसले संविधानका केही बुँदालाई आवश्यकता हेरी संशोधन गर्न प्रस्ताव अघि सारेको बताए ।

नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहकाे सभापतित्वमा भएकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक हजार ५ सय बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेता निधि नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति एवम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहसहितका नेताहरुले अविरमाला लगाई पार्टीमा स्वागत गरेका थिए ।

आमसभामा पूर्व सभापति एवम् मन्त्री नागेन्द्र राय,संविधानसभा सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,जंगिलाल राय, हरेश महतो,उप्रेन्द्र सिंह कुशवाह,कृष्णदेव यादव,जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह,महासमिति सदस्य प्रमोद बराल लगायतको उपस्थित रहेको थियो ।









