
काठमाडौं,मंसिर -११,सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट आज काठमाडौं ल्याउन लागिएको हो।

लामिछानेको पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएको प्रहरीले जनाएको छ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको आरोपमा गोर्खा मिडियाका पूर्वसञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। जोशीको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको छ।

कास्की जिल्ला अदालतले आइतवा लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई फेरि कास्की नै लगिने छ। बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो।

लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। त्यसपछि उनलाई बयानका लागि चितवन लैजाने प्रहरीको तयारी छ।









