
जनकपुरधाम,मंसिर -१०, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताएका छन् ।
मुलुकमा विभिन्न परिवर्तनका लागि सहिद भएका र जेलमा यातना पाएकाहरूका कारण देशमा धेरै परिवर्तन भएको बताएका छन्।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२५, लोहनामा नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभाका पूर्वसदस्य स्वर्गीय अरविन्द ठाकुरको अर्धकदको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

सभापति देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद हुनेहरूले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक शासन व्यवस्थाका लागि ठूलो योगदान दिनुभएका स्वर्गीय नेता अरविन्द ठाकुरको सपना साकार पार्न जरुरी रहेको बताए।

उनलेे लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि कांग्रेसको सशस्त्र आन्दोलनको क्रममा बम प्रहार गर्ने क्रममा पक्राउ परी १६ वर्षसम्म जेल बसेका प्रजातान्त्रिक योद्धा ठाकुर जस्ता नेताका कारण नै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आएको बताए।

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाहरूको निर्माणका साथै जनतालाई धेरै अधिकार दिएको बताउदै, अहिले पनि देश तथा मधेशको हित चाहने पार्टी कांग्रेस नै भएको जिकिर गरे ।









