
काठमाण्डाै,मंसिर -४,मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार साइबर अपराध कसूरमा उनलाई पक्राउ गरिएको हाे ।कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर अर्थात् झन्डै ३२ अर्ब नेपाली रुपैयाँ लगानी रहेको भन्दै प्रसाईंले साेमवार बेलुका केही कागजात सार्वजनिक गरेका थिए ।

देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेका व्यक्तिको नाम र हस्ताक्षर कीर्ते गरेर गलत विवरण तयार पारी भ्रम फैलाएको भन्दै सीआईबीको टोलीले प्रसाईंलाई उनको घर भक्तपुरबाटै पक्राउ गरेको हो ।
प्रसाईंले प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षरसहित विवरण सार्वजनिक गरे पनि नाम थर र हस्ताक्षर नमिलेकाले उनले गलत विवरण सार्वजनिक गरेर भ्रम फैलाएको आरोप लागेको छ ।
ओली सन् २०१९ मा एउटा बिजनेस सम्मेलनमा भाग लिन कम्बोडिया जाँदा त्यहाँको टेलिकम कम्पनीमा शेयर होल्डरको रूपमा ३२ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी गरेको प्रसाईंको आराेप छ ।

साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले विभिन्न मुद्दा चलाउने तयारी गरेको छ । उनले प्रधानमन्त्रीकै नाम र हस्ताक्षर कीर्ते गरेको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिताअनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरीमाना हुनसक्छ । यस्तै हस्ताक्षर कीर्ते कसुरमा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँसम्म जरीमाना हुन सक्छ ।









