
राजु तामाङ / सर्लाही
कार्तिक- ६,जिल्लाको हरिपुरमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा मंगलवार गौरी शंकर युवा क्लब बिजयी भएको छ ।
हरिपुर नगरपालिका २ को सानो जगतपुर खेल मैदानमा चौथो दिनको खेलमा गौरी शंकरले तीनघरे एफ सी हरिवन ४ लाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

याे संगै क्वाटरफाइनलमा गौरी शंकरले आयोजक निलो सँग प्रतिस्पर्धा गर्नेछन ।
गौरीशंकरको जितमा खेलको पहिलो हाफको २० औं मिनेटमा शिवजी कुवरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलमा फर्किन राम्रो अवसर सिर्जना गरे पनि तीनघरे एफ सी ले विपक्षको पोष्टमा गोल गर्न सकेनन ।
खेलमा थपिएको २ मिनेटको अतिरिक्त समयमा गौरीशंकरले पाएको फ्रि-किक ३० मिटर टाढाबाट शिवजी कुवरले गोल गर्दै टिमको अग्रतालाई दोब्बर बनाए । त्यसको लगत्तै निश्चल कुवरले अर्को गोल थपे ।
दोस्रो हाफमा तुलनात्मक रुपमा खेल सुधारिए पनि तिनघरेले गोल गर्न सकेनन अन्तत ३-० गोल अन्तरले गौरीशंकर बिजयी भएको हाे।

खेलको हिरो अफ द म्याच गौरीशंकरका शिवजी घोषित हुँदै नगद पाँच सय रुपैयाँ प्राप्त गरे । हिरो अफ द म्याचको पुरस्कार हरिपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष निल कुमार थापाले प्रदान गरेका थिए ।
हरिपुर नगरपालिका वडा नम्बर २ को प्रायोजन तथा नव संघर्ष शिल युवा क्लबको आयोजनामा कार्तिक ३ गतेबाट सुरु भएको प्रतियोगितामा आयोजक दुई टिम गरी १४ टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद पुरस्कार २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा भोलिदेखि क्वाटरफाइनलको खेल सञ्चालन हुदैछ भोलिको पहिलो क्वाटरफाइनलमा जन जागृति युवा क्लब रामपुर र चेतना सन्देश नेपाल हरिवन बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कार्तिक १४ गते हुनेछ ।









