क्षतिग्रस्त वीपी राजमार्ग ।

काठमाण्डौ,असोज–१८, अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दाबी गरेको छ ।
आज (शुक्रवार) प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले केहीदिन अघिको अविरल वर्षाका कारण बाढीपहिरोले क्षति पुगेका बीपी राजमार्ग बाहेक अरु सबै राजमार्ग सोमवारभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी बताए ।

उनका अनुसार बीपी राजमार्ग पूर्णरुपमा सञ्चालन गर्न भने समय लाग्ने छ ।
गएको असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण बाढी पहिरोबाट क्षतिग्रस्त ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८ सय ५ ठाउँमा पहिरो गएकोमा ७ सय ७४ वटा पहिरो हटाइएको सचिव शर्माले जानकारी दिए । उनका अनुसर अझै पाँचवटा राजमार्गका २१ ठाउँमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास भइरहेको छ ।


उनले कान्ति राजपथ भोलिदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना रहेको बताए । अरनिको राजमार्ग पनि तीन दिनभित्र सञ्चालनमा ल्याउन काम भइरहेको सचिव शर्माले जानकारी दिए ।