सर्लाही,असाेज-१२,केही दिन देखि निरन्तर भइरहेको वर्षाले जिल्लाको दक्षिण पश्चिमी क्षेत्रका नागरिक प्रभावित भएका छन्। पानीको राम्रो निकास नभएका कारण राजमार्ग नजिकका कतिपय बस्ती पनि डुवानमा परेका छन् ।
निरन्तरको वर्षा पछि बागमती नदीमा आएको बाढी बाँध नाघेर बस्तीमा पस्न थालेपछि बसबरिया गाउँपालिका क्षेत्रका नागरिक बिचल्लीमा परेका छन् ।
बाढीले तटबन्ध भत्काएर बस्तीमा पसेपछि बिचल्लीमा परेका बसबरिया गाउँपालिका वडा नम्बर १ र २ मानपुरका नागरिकलाई सशस्त्र प्रहरीले सुरक्षित ठाउँमा सारेको छ ।
आफूहरूले बोट्काे प्रयोग गरेर डुवानमा परेका नागरिकको उद्धार गरेको सशस्त्र प्रहरीबल १० नम्बर गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।
त्यस्तै नेपाल भारत सीमावर्ती क्षेत्र जिल्लाकाे बलरा नगरपालिका–१ छन्कीटोला र बलरा-२ हथियौलमा पनि करिब १०० घर डुवानमा पर्नुकासाथै २ घरमा क्षति पुगेको छ ।
सुरक्षाकर्मीकाे सहयोगमा बाढीको जोखिम रहेको क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।