
असोज ८ ,सरकारले उखु किसानलाई उपलब्ध गराउनुपर्ने अनुदानको रकम उखु बिक्री गरेको १० महिना बितिसक्दा पनि किसानले पाउन सकेका छैनन्। सरकारले आर्थिक वर्ष २०८०÷०८१ को लागि उखुको समर्थन मुल्य प्रतिक्वीन्टल ६३५ रुपैयाँ निर्धारण गरेको थियोे ।उद्योगीले किसानसँग प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँमा उखु खरिद गर्नुपर्ने र सरकारले ७० रुपैया थप अनुदान दिनुपर्ने गरि उखुको मुल्य निर्धारण गरिएको थियोे ।

उद्योगीले उखु खरिद बापतको ५६५ रुपैयाँ भुक्तानी गरिसकेका छन भने सरकारले दिनुपर्ने ७० रुपैया अनुदानको रकम भुक्तानी हुन नसकेको हो ।
उखु बिक्री गरेको १० महिना बितिसक्दापनि अनुदान रकम नपाएकाले घर खर्च चलाउन मुस्किल परेको किसानहरुले गुनासो गरेका छन् । चाडपर्व नजिक आइसक्दापनि अनुदानको रकम भुक्तानी गर्नेतर्फ सरकारले चासो नदेखिएको उखु किसान कुमार ढुङ्गेलले गुनासो गरे ।

दशै अगाडिनै सरकारले अनुदानको रकम नदिए आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन्। उखु किसानलाई उपलब्ध गराउँने ७० रुपैयाँ अनुदानको रकम छिटो पठाउन कृषि मन्त्रालय र अर्थ मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराएको नेपाल उखु उत्पदक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।
सर्लाहीमा रहेका तीनवटा चिनी उद्योगले क्रसिङ गरेको उखुको अनुदान रकम २९ करोड हुने र मन्त्रालले अहिलेसम्म कार्यालयको खातामा रकम नपठाएकाले किसानको बैंक खातामा पैसा जम्म गर्न नसकिएको सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंले जानकारी दिए ।

केही साताअघि अनुदानको रकम माग गर्न राजधानी पुगेका उखु किसानलाई सरकारले भदौ मसान्त भित्रै अनुदान उपलब्ध गराउने आश्वासन दिएपछि फर्किएर आएका थिए ।









