जितिया पर्व मनाइदै ।

सर्लाही, असोज —८, जितिया पर्व सर्लाहीसहित मिथिला क्षेत्रमा आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार ब्रत शुरू भएको छ । यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने गर्दछन ।
निराहार व्रत शुरू गरिएपछि समापन नहुउञ्जेल थुक पनि निल्न नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ ।

मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधि हिजो गरि यो पर्व शुरू भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि भोलि बेलुका ५ बजेसम्म बर्तालुहरु अन्न र पानीसमेत नखाएर उपवास बस्ने गर्छन् ।


जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा हिजो ओगठन, आज जितिया व्रत र भोलि बेलुका ५ बजे व्रत पारण अर्थात् समापन विधि हुने उल्लेख छ । तिथिअनुसार यसवर्ष आज र भोलि दिनभरि उपवास बसेर भोलि बेलुका व्रत समापन गरिने परम्परा रहेको छ ।


मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्वकासाथ लिइने यो व्रत आश्विन कृष्ण पक्षको अष्टमीका दिन पर्दछ ।