सर्लाही,असोज –८, पछिल्लो केही दिनदेखि अत्याधिक गर्मीका सास्ती खेपेका सर्लाहीसहित तराईका जिल्लाका नागरिकले आजदेखि मौसम बदली भए पछि राहत महसुस गरेका छन् ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकोले आउँदो ४ दिन बदली हुने र धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएको चार दिन यता सर्लाहीसहित तराईका जिल्लाको तापक्रम ४४ डिग्र सम्म पुगेको थियो ।


शनिवारसम्म पानी पर्ने भए पनि निरन्तरको झरी नभएर केहीबेर रोकिँदै अनि पानी पर्दै गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले यसअघि हिजो विशेष बुलेटिन निकालेर मनसुनको असर आज थोरै पर्ने तर भोलिदेखि धेरै ठाउँमा पानी पर्न सक्ने जानकारी दिएको थियो ।
मनसुनी वायुसँगै बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभाव लुम्बिनी र सुदुरपश्चिम क्षेत्रमा बढी छ भने देशैभर बदली भई विभिन्न ठाउँमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकासहित कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


आज दिउँसो लुम्बिनी प्रदेशका पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा मेघगर्जन÷चट्याङ्सहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । पर्सि असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला पानी पर्नसक्ने र यसबाट जनजीवन प्रभावित हुने अनुमान छ ।
महाशाखाले इलाम, पाँचथर, तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, सुर्खेत, सल्यान, रुकुम, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा लगायतका २७ जिल्लामा वर्षा र यसको जोखिम रहने जनाएको छ ।


महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत्र मुख्यगरी धानबालीमा असर पार्ने देखिएकाले धान काट्नु र थन्क्याउनु अघि मौसमको अध्यावधिक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ । यस्तै उच्च जोखिममा रहेका जिल्लामा वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको सम्भावना भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।