सर्लाही,भदौ- ८, गरिमा विकास बैंक मलंगवाका म्यानेजर रामएकवाल साहबाट ठगिमा परेका भनिएका नगरिकले अझै न्याय नपाएको गुनासो गरेका छन् ।
आफूहरु म्यानेजर साहबाट ठगिमा परेको भनेर प्रमाणसहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सर्लाही, गृह मन्त्रालय, गरिमा विकास बैंकको केन्द्रीय कार्यालय, सिआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा विभिन्न माध्यमबाट उजुरी दिएको भएपनि कतैबाट सुनुवाई नभएको उनीहरुले दुखेसो पोखेका छन् ।


‘अहिले पनि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले हाम्रो उजुरी लिन नमानेपछि हामीले हुलाक मार्फत दर्ता गराएका छौं । सिडियो साहेबले त हाम्रो केश हेर्न मिल्दैन भनेर उजुरीमा तोक लगाउनु भएन ।’, ‘पीडितमध्येका फेकन रायले भने, ‘हामी अन्यायमा परेका छौं ।
हामीलाई बैंक म्यानेजर साहको पक्षबाट डर धम्की आईरहेको छ । पीडितमध्ये केहीलाई जबरजस्ती उठाएर लगेर आफूअनुकुल सहमति गराउने नमाने कुटपिट समेत गरिरहेको छ। हामीले प्रशासनलाई पटक पटक भन्यौं तर सुनुवाई नै भएको छैन । गरीबलाई पर्दा साथ दिने कोही नै नहुँदा रहेछन् ।’ पीडितहरूले भने ।
त्यस्तै लालबन्दी १७ रानीगञ्जका पीडित राजेश भुजेलले म्यानेजर साहले आफूहरुलाई प्रलोभनमा पार्न खोजेको बताए । उनले भने, ‘हामी मिडियामा आएपछि म्यानेजरले विचौलिया कृष्ण यादवलाई खटाएर हामीलाई फकाई रहेका छन् । मैले पाउनुपर्ने पैसा विचौलिया यादवले मेरो खातामा जम्मा गरेपनि म्यानेजर साहले खाता नै ब्लक गरेर राखेका छन् । मैले कृष्ण यादवलाई दिएको पैसा पाएको हो । ऋण वापतको पैसा अझै पाएको छैन ।’


त्यस्तै सोही ठाउँकी सिता विश्वकर्माले पनि आफूहरुले म्यानेजर साह विरुद्ध पत्रकार सम्मेलन गरेपछि बिचौलिया कृष्ण यादव मार्फत नै ५ लाख रुपैयाँ खातामा आएको तर त्यो पनि झिक्न नमिल्ने बनाएको बताईन् । उनले भनिन्, मैले ऋण वापत पाउने जम्मा रकम १६ लाख हो । अहिले सम्म यो पाँच लाखसहित सात लाख पैसट्ठी हजार मात्रै आयो अरु पैसा खै भन्दा हुन्छ हुन्छ मात्रै भन्छन् तर भएको छैन ।’
त्यस्तै चन्द्रनगरका मिथिलेस कुमार सिंहलाई म्यानेजर यादवले मान्छे खटाएर जिविस चोकबाट उठाई लगेको पीडित सिंहले बताए । उनले भने, ‘मलाई म्यानेजरको मान्छेले जबरजस्ती उठाएर लगे । सुजाता होटलमा राखेर जबरजस्ती सहमतिपत्रमा ल्याप्चे लगाउन लगाए । त्यो सहमतिमा के छ मलाई थाहा छैन । उनीहरुले मलाई ऋण वापतको २० लाखको चेक दिएका छन् । तर चेकमा मिति समेत खाली छोडिएको छ ।


यता, पीडितहरुको न्यायको लागि काम गरिरहेको नागरीक युवा दस्ता नेपालले पीडितहरुले न्याय नपाएको बताएको छ । हामी कानूनी बाटोबाटै पीडितहरुले न्याय पाउन् भन्ने पक्षमा छौं । तर अहिले सम्म कतैबाट पनि सुनुवाई भएको र अलिकति पनि काम अघि बढेको पाइएको छैन । नागरीक युवा दस्तालाई बल प्रयोग गर्न बाध्य नबनाउन हामी आग्रह गर्दछौं’, नागरीक युवा दस्ता नेपालका मधेश प्रदेश अध्यक्ष सरोज मैनालीले भने ।
उनले म्यानेजर साहले पीडितहरुलाई ख्यालख्याल ठानीरहेको आरोप लगाए । उनले म्यानेजर साहलाई बचाउन तलदेखि माथिसम्म सबै लागिरहेको आफूहरुले बुझेकोले पीडितहरुको पक्षमा आफूहरु अन्तिम सम्म लडि रहने प्रतिवद्धता व्यक्त गरे ।
उनका अनुसार यो ठगिको घटनामा यहाँका ठुला भनिएका नेता, प्रशासन, गरिमा विकास बैंकको केन्द्रीय कार्यालयसमेत संलग्न भएको हुन सक्छ । आफूहरुले पटक पटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नहुनुले घटनामा माथिसम्मकै सेटिङ्ग छ भनेर बुझ्न कठिन नहुने उनको ठहर छ ।
उनले म्यानेजर साहले जिल्लामा मात्रै डेढ दर्जनबढी ऋणीहरुलाई जालझेल गरी बिचौलियाहरु खटाएर ठगि गरेको पाइएको बताए । उनका अनुसार म्यानेजर साहले १० करोड हाराहारी ठगि गरेको बताए । उनले म्यानेजर साहलाई पक्राउ गरी अनुसन्धान गर्न सम्बन्धित निकायलाई माग गरे ।