राजु तामाङ/ नयाँरोड
भाद्र- ७,सर्लाहीको हरिवन नगरपालिका १० नयाँरोडमा आज (शुक्रबार) बाट मिनी महोत्सव सुरु भएको छ ।
नजिकिदै गरेको कृष्ण जन्माष्टमी र हिन्दु नारीहरुको पर्व तीजको अवसर पारेर नयाँरोड बजार सुधार समितिले १८ दिने मिनी महोत्सवको आयोजना गरेकाे हाे ।


महोत्सवको आज पहिलो दिन हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी र उप-प्रमुख हरिमाया घलानले संयुक्त रुपमा पानसमा दिप बालेर उद्घाटन गरेका छन्  ।
हरिवन बजार र नयाँरोड बजारको व्यवस्थापन सँगै आर्थिक समृद्धि र बजार चलायमान गराउनका निम्ति मेला आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष भुजेलले जानकारी दिए । मेलामा मनोरञ्जनका लागि प्रत्येक दिन विभिन्न राष्ट्रिय स्तरको गायक गायिका कमल खत्री, ज्योति मगर र टिका प्रसाई लगायत कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताएको छ ।

फरक दिन फरक नृत्य ग्रुपको कलाकारको नृत्य हेर्न सकिनेछ थप मनोरञ्जनका लागि भने खेल तर्फ रोटे पिङ, नाव, ड्रागन रेल, बच्चाहरुको लागि मिकी माउस, जम्पिङ र स्कारपी गाडी जस्ता खेलहरुबाट मनोरञ्जन लिन सकिने आयोजकले बताएको छ ।नयाँरोड बजार सुधार समितिका अध्यक्ष राजु शिवाकोटीको अध्यक्षतामा उद्घाटन भएको महोत्सवमा हरिवन ९ का पूर्व वडा अध्यक्ष तथा नेकपा एमाले हरिवन नकर कमिटी अध्यक्ष सिताराम पोख्रेल, नेकपा एमालेका नेता मिरा कार्की, वाईसीएल नगर अध्यक्ष राज घिसिङ, नेकपा एमाले हरिवन १० का वडा कमिटी अध्यक्ष रोजन घिसिङ, हरिवन २ का वडा सदस्य ज्योति घलान सर्लाही एम्बिसन एकेडेमीका प्रधानाध्यापक सुरेश पाख्रिन, शिक्षक बुद्धमान जिम्बा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रपछि साँस्कृतिक तथा सांगीतिक कार्यक्रम सुरु भएको छ । आजबाट सुरु भएको मेला भाद्र २५ गतेसम्म सञ्चालन हुने कार्यक्रम सञ्चालक भक्ति रिजालले जानकारी दिए ।