काठमाण्डौ,भदौ–७, सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएमा टिकटकलाई लगाइएको प्रतिबन्ध हटाउने भएको छ ।
सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अरु चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।


टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने शर्त राखिएको छ ।
टिकटकले यी शर्तहरु स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरिएको सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।


सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने उनको भनाइ छ ।
टिकटक लगायतका सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न नपाउने सरकारले जनाएको छ ।