सर्लाही, बैशाख-३ । मधेश प्रदेशको सर्लाहीस्थित चन्द्रनगर गाउँपालिकाको नाढीमन ताल परिसर अब चलचित्रकर्मीहरूको नयाँ जमघटस्थल बन्ने भएको छ।
ग्रामीण परिवेशलाई केन्द्रमा राख्दै आयोजना गरिने नेपाल ग्रामीण चलचित्र महोत्सवको पाँचौं संस्करण यही बैशाख १५, १६ र १७ गते हुने भएपछि स्थानीयस्तरमा उत्साह थपिएको छ।

यसअघि गोरखा, काभ्रे, रामेछाप र रसुवामा सम्पन्न भइसकेको यो महोत्सव पहिलो पटक मधेश प्रदेशमा आयोजना हुन लागेको हो। आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले बिहीवार पत्रकार सम्मेलनमार्फत तयारी तीव्र पारिएको जानकारी दिएको छ।

आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार महोत्सवले ग्रामीण कथावस्तु, जीवनशैली र सामाजिक यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गर्ने उद्देश्य राखेको छ। “ग्रामीण परिवेशमा आधारित सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई प्राथमिकतामा राखेर प्रदर्शन गरिनेछ,” उनले भने।विभिन्न भाषाभाषीका चलचित्रहरू समावेश गरिने भएकाले सांस्कृतिक विविधताको झल्को पनि देख्न पाइने अपेक्षा गरिएको छ।

महोत्सवको पहिलो दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ भने त्यसपछिका दिनहरूमा चलचित्र प्रदर्शन, चलचित्र क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया र उत्कृष्ट कृतिलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ।

यसले चलचित्रप्रेमी मात्र नभई स्थानीय युवापुस्तालाई पनि सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्ने विश्वास आयोजकको छ।
मधेश प्रदेशमा लामो समयदेखि भोजपुरी र मैथिली चलचित्रको प्रभाव रहेको सन्दर्भमा यो महोत्सवलाई नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढाउने माध्यमका रूपमा पनि हेरिएको छ।
“हामी नेपाली चलचित्रलाई मधेशका दर्शकमाझ अझ नजिक पुर्‍याउन चाहन्छौं,” सापकोटाले भने, “यसले सांस्कृतिक आदानप्रदानसँगै चलचित्र बजार विस्तारमा समेत सहयोग पुग्नेछ।”

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनका अनुसार नाढीमन ताल मधेश प्रदेशकै महत्वपूर्ण प्राकृतिक र ऐतिहासिक सम्पदामध्ये एक हो, तर यसको प्रचारप्रसार पर्याप्त हुन सकेको छैन। “देशभरका चलचित्रकर्मीलाई यहाँ ल्याएर महोत्सव आयोजना गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो,” उनले भने।

नाढीमन ताललाई केन्द्रमा राखेर आयोजना गरिने यो महोत्सवले भविष्यमा यस क्षेत्रलाई चलचित्र छायाङ्कनको सम्भावित गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली र सांस्कृतिक विविधता एकै ठाउँमा पाइने भएकाले फिल्म निर्माणका लागि उपयुक्त स्थलको रूपमा विकास गर्न सकिने आयोजकको धारणा छ।स्थानीयस्तरमा होटल, यातायात र अन्य सेवामूलक क्षेत्रमा समेत चहलपहल बढ्ने अपेक्षा गरिएको छ। यसले आर्थिक गतिविधि चलायमान बनाउने मात्र नभई ग्रामीण क्षेत्रको पहिचान उजागर गर्न सहयोग पुग्ने अध्यक्ष महतोको विश्वास छ ।
नेपाल ग्रामीण चलचित्र महोत्सवको पाँचौं संस्करणले सर्लाहीको नाढीमनलाई केवल प्राकृतिक स्थल मात्र नभई सांस्कृतिक र चलचित्र गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने संकेत दिएको छ।