जनकपुर– मृतक आरती साहका श्रीमान् मोतीबाबु साह जनकपुरबाट पक्राउ परेका छन् । उनी सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार पठाएका ब्यक्तिहुन ।
धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माका अनुसार साहलाई जनकपुरको सीता चोकमा रहेको होटल सगुन प्लाजाबाट पक्राउ गरिएको हाे ।


नेपाल र भारतमा लुकेर प्रहरीलाई झुक्याउँदै आएका मोतीबाबुलाई साेमवार (आज) विशेष सूचनाका आधारमा पक्राउ गरिएको एसपी शर्माले बताउनुभयो ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालतको आदेश आएपछि तोकिएकै कारागार पठाइने प्रहरीले जनाएको छ ।
गएको जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोककी २२ वर्षीया आरती साहको शङ्कास्पद मृत्यु भएको थियो । आरतीका श्रीमान् र आफन्तले आत्महत्या भएको दाबी गरेका थिए । प्रहरीले आरतीका माइती पक्षले दिएको जाहेरीसमेत लिन मानेको थिएन । तर उनीहरू न्याय माग्दै काठमाण्डौ पुगेपछि जिल्ला अदालतमा आरतीका श्रीमान् र घरका सदस्यविरुद्ध मुद्दा दर्ता भएको थियो ।


धनुषा जिल्ला अदालतले उनका पति मोतीबाबु र ससुरा मदनमोहन साहलाई पुर्पक्षका लागि कारागार पठाइदिए पनि उच्च अदालतले उनीहरूलाई कारागारमुक्त गरिदिएको थियो । त्यसपछि आरतीका माइती पक्षले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएपछि सर्वोच्चले उच्च अदालतको फैसला उल्टाउँदै कारागार चलान गर्न आदेश दिएको  थियो ।