बालिका उप्रेती /लालबन्दी पुस- ८,जिल्लाको लालबन्दी नगरपालिका ७ मा रहेको जानकी माविमा विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज फुयालको अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीको प्रमुख आतिथ्यतामा विद्यालयबाट अन्य विद्यालयमा सरुवा भई गएका शिक्षक तथा पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।


सम्मानित हुनेहरुमा पूर्व वडाअध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद न्यौपाने, पूर्व प्रधानाध्यापक मिन कुमार पौडेल, जानकीबाट प्रेमज्योती स्कुल लालबन्दी ६ मा प्रधानाध्यापक भई जानु भएकी तुलसा गौतम, कमला खड्का, राममाया फुयाँल लगायत रहनु भएको छ ।

उहाँहरुलाई दोसल्ला ओढाई कदर पत्रबाट सम्मान गरिएको थियो ।
विदाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै बक्ताहरुले जानकी माविको शैक्षिक सुधारमा पछिल्लो समय राम्रो थालनी भएको बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व वडाअध्यक्ष सुरेन्द्र प्रसाद न्यौपानेले सहरभित्रको गरीब स्कुल नै जानकी मावि भएकोले यस विद्यालयलाई नगरकै नमूना बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।


त्यस्तै वडाअध्यक्ष कृष्ण कुमार कार्की(गोपाल)ले आफू पनि जानकी माविकै पूर्व विद्यार्थी भएको बताउनुहुँदै आफू पढेको स्कुलको सुधारमा धेरै काम गर्ने चाहना रहेको बताउनुभयो । उहाँले आफू वडाअध्यक्षमा निर्वाचित हुनुपूर्व नै जानकीमा अंग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने प्रतिवद्धता गरे अनुरुप नै अहिले विद्यालयमा अंग्रेजी माध्यमको पठाई सुरु भएको बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई राम्रा योजनाहरु ल्याउन आग्रह गर्नुहुँदै आवश्यक पर्ने सबै बजेट वडा तथा नगरपालिकाले उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिरालाल महतोले स्वागत मन्तव्य राख्नुभएको थियो ।