सर्लाही, फागुन— ९ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्न भावनात्मक अभिव्यक्तिभन्दा कानुनी र संरचनागत सुधार आवश्यक रहेको बताएका छन्। सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका थापाले विकासको बहसलाई व्यक्तिविरुद्धको आक्रोशमा सीमित नगरी नीति तथा कानुन सुधारतर्फ केन्द्रित गर्नुपर्ने धारणा राखेका हुन् ।


शनिवार बरहथवामा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनद्वारा आयोजित विभिन्न पेशामा आवद्ध बुद्धिजीवीहरूसँगको निर्वाचन अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्माण व्यवसायीलाई रूखमा बाँध्ने वा कडा कारबाहीको भाषणले मात्र सडक चाँडो नबन्ने स्पष्ट पारे। “सबैलाई फटाहा देख्ने र आफू मात्र असल ठानेर चाबुक चलाउने सोचले सुधार नभई, दुर्घटना निम्त्याउँछ,” उनले भने ।


थापाले हालको सार्वजनिक खरिद ऐन तथा ठेक्का प्रक्रियामा ‘कम बोल लगाउने कम्पनीले काम पाउने’ व्यवस्था नै गुणस्तरीय र समयमै काम सम्पन्न हुन नसक्नुको मुख्य कारण भएको उल्लेख गरे । उनका अनुसार सस्तोमा ठेक्का लिने तर पछि काम लम्ब्याउने प्रवृत्ति मौलाउनुमा कानुनी कमजोरी जिम्मेवार छ । “गुणस्तरीय काम गर्ने र तोकिएको समयभित्र सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता तथा क्षमताका आधारमा ठेक्का दिने कानुनी प्रावधान नबनाइन्जेल सडक, पुल वा अन्य पूर्वाधार समयमा सम्पन्न हुँदैनन्,” उनले भने ।


उनले विभिन्न विकास आयोजनामा कानुनी तथा प्रशासनिक जटिलताका कारण अनावश्यक ढिलाइ हुने गरेको उदाहरण पनि प्रस्तुत गरे । जलविद्युत् आयोजना अघि बढाउन ऊर्जा प्रवद्र्धकले लाइसेन्स लिएपछि २७ वटा निकाय धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिए । “एकद्वार प्रणालीमार्फत प्रक्रिया सरल बनाउन सके कम्तीमा दुई वर्षसम्म लाग्ने अतिरिक्त समय बचत गर्न सकिन्छ,” उनले भने।


थापाले आफ्नो अध्ययनअनुसार विकास निर्माणमा कम्तीमा ४१ वटा कानुनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अवरोध सिर्जना गरिरहेको दाबी गरे। ती कानुनहरूको पुनरावलोकन र समयानुकूल संशोधनमार्फत मात्र दीर्घकालीन सुधार सम्भव हुने उनको भनाइ थियो।


यस अघि मतदातासँग भेघघाटको क्रममा उनले आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ लाई मधेशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहो¥याए । प्राविधिक शिक्षाको विस्तारका लागि इन्जिनियरिङ कलेज स्थापना गर्ने प्रक्रिया अघि बढेको तथा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने निर्णय भइसकेको जानकारी दिँदै उनले शिक्षा र स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताए । निर्वाचन आचारसंहिताका कारण विस्तृत विवरण दिन नमिल्ने उल्लेख गर्दै उनले क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजना रहेको दाबी गरे।


उनले मतदातासँग काम गर्ने अवसर माग्दै निर्वाचनसम्म सहयोग गर्न आग्रह गरे । “म काम गर्ने अवसर माग्न आएको हुँ। अवसर पाएपछि विकासको जिम्मेवारी म लिन्छु,” उनले भने। साथै, दलगत आग्रहभन्दा माथि उठेर विकासका पक्षमा उभिन मतदातालाई अपिल गर्दै यसपटक क्षेत्रको दीर्घकालीन हितलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।