![]()
हरिवन,माघ १७ । हरिवन नगरपालिकाको आयोजनामा शनिवार हरिवन नगर अस्पताल सासापुरमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा दीर्घायु गुरु अस्पताल, काठमाडौँका जेनरल फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. नरेन्द्र प्रसाद मैनालीले सेवा प्रदान गरेका थिए ।
शिविरमा ६० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। ४३ जना महिला र १७ जना पुरुषले सेवा लिएका हरिन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।

शिविरमा एक जनाको प्लास्टरसमेत गरिएको थियो। शिविरमा आवश्यक औषधि डा. मैनालीले निःशुल्क उपलब्ध गराएका थिए ।
स्वास्थ्य शाखाका सह संयोजक श्याम विनोद कुशवाहाका अनुसार आउँदो चैत महिनाको तेस्रो शनिवार पुनः नगर अस्पताल सासापुरमै डा. मैनालीबाट विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिनेछ। नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक गजेन्द्र कुमार महतोका अनुसार शिविरमा विशेषगरी नसर्ने रोगअन्तर्गत सुगर, प्रेसर, थाइराइड, कोलेस्टेरोल, बाथ, जोर्नी दुख्ने तथा सुन्निने, घुँडाको हड्डी खिइनेजस्ता समस्याका बिरामीहरूले सेवा लिएका थिए।
![]()
स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार छाला तथा यौनरोग विशेषज्ञ सेवा प्रत्येक शुक्रवार हरिवन स्वास्थ्य चौकीमा नियमित रूपमा सञ्चालन हुँदै आएको छ। अन्य विभिन्न विशेषज्ञ स्वास्थ्य शिविरका लागि प्रादेशिक अस्पताल मलंगवासँग समन्वय भइरहेको उनले बताए।

नगरपालिकाले बयोधा अस्पताल, वीरगञ्ज तथा जानकी मेडिकल कलेजसँग पनि नियमित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनका लागि समन्वय गर्दै आएको जनाएको छ। नगर प्रमुख रमेश बुढाथोकीका अनुसार यस्ता शिविरले स्थानीयलाई आफ्नै गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा लिन सहज भएको छ।

यसैबीच शनिवार नै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ठिमी, भक्तपुरका पूर्व निर्देशक डा. केदार नरसिंह के.सी., माइक्रोबायोलोजिस्ट डा. पुष्पमान श्रेष्ठ, विष्णु सुवेदी, राजन कुइँकेल तथा वागमती सेवा समाज नेपालका पूर्व अध्यक्ष र कार्यकारी निर्देशक रामकृष्ण रायसहितको टोलीले हरिवन नगर अस्पताल सासापुरमा माइक्रोस्कोपिक सेन्टर, जीन एक्सपर्ट सेन्टर र डट्स सेन्टरको सहयोगात्मक सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन गरेको छ।

टोलीले नगर प्रमुख, स्वास्थ्य शाखा प्रमुख, सह–संयोजक, क्षयरोग फोकल पर्सन, बीएमएलटीलगायतको उपस्थितिमा पृष्ठपोषणसहित आवश्यक सल्लाह सुझाव दिएको नगर अस्पतालका क्षयरोग फोकल पर्सन गोविन्द चौधरीले जानकारी दिए।










